विप्लवका कोसी ब्युरो इन्चार्ज श्रेष्ठलाई संगठित अपराध र हातहतियार मुद्दा लगाइयाे



विराटनगर : आइतबार साँझ पक्राउ परेका कोसी ब्युरो इन्चार्ज घनश्याम श्रेष्ठ(पुष्कर)लाई संगठित अपराध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ।

श्रेष्ठ मोरङको कानेपोखरी गाउँपालिकाको बयरवनबाट पक्राउ परेका थिए। त्यसैगरी सुनसरीबाट समातिएका माधव गौतमलाई संगठित अपराध तथा हातहतियार मुद्दामा म्याद थप गरिएको छ। 

विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने सूचना पाएपछि पुगेको प्रहरीले श्रेष्ठ र गौतमलाई पक्राउ गरेको हो। अन्य भने फरार भएका थिए। उनीहरुलाई पक्राउ गरिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट सात किलोमिटर दक्षिणमा पर्छ। पक्राउ गरिएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको थियो।

प्रहरीले उनीहरुका साथबाट नगद, उनीहरुले प्रयोग गर्ने मोबाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरु बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार करिब चार लाख रुपैयाँ रकम बरामद भएपनि प्रहरीले आधिकारीक पुष्टि भने गरेको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले पक्राउ परेका दुई जनालाई म्याद थप गरिएको बताए।

हातहतियारसम्बन्धी मुद्दामा धरानमा राखेर अनुसन्धान भैरहेको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्