कर्णालीका सांसदलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार



काठमाडौँः आफ्नो क्षेत्रको विकासका लागि केन्द्रीय सरकारले ध्यान नदिएको गुनासो गरिरहेका बेला कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले मंगलबार संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कर्णालीको समस्या सुन्न आग्रह गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले ती सांसदहरुलाई दिउँसो २ बजे आफ्नो निवास बालुवाटारमा बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। कर्णालीबाट प्रतिनिनिधसभामा प्रत्यक्षतर्फ १२ जना र राष्ट्रियसभामा ८ जना सांसदले प्रतिनिधित्व गर्छन्।

खासगरी कर्णालीका सांसदले केन्द्र सरकारले आफ्नो प्रदेशलाई राजनीतिक पहुँचभित्र समावेश नै गर्न नसकेको र त्यसले विकास प्रक्रियालाई अवरोध गरेको गुनासो गर्दै आएका छन्। कर्णाली प्रदेशले केन्द्रको नीति अनुसार संघीयता समेत कार्यान्वयन गर्न सकेको छैन।  केन्द्र सरकारले कर्मचारी समायोजनको प्रक्रियामा कर्मचारीलाई छनौटका मौका दिएपछि भौगोलिक विकटताका कारण कर्णाली उनीहरुको रोजाईमा नपर्दा समस्या परेको सांसदको गुनासो छ।

हुम्लाका सांसद छक्कबहादुर लामाले केन्द्रसरकारबाट कर्णाली र यस क्षेत्रका जनताको विकासका लागि ठोष कदम नै चाल्न नसकेको बताए। सरकारले राष्ट्रिय गौरवका आयोजनामा पनि कर्णालीलाई प्राथमिकतामा नपारेको उनको गुनासो छ।

कर्णाली प्रदेशबाट प्रनिधित्व गर्ने शक्ति बहादुर बस्नेत हाल वन मन्त्री छन् भने धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् । लामाले भने,‘ मंगलबार हामी कर्णालीको गुनासो कहिले संवोधन हुन्छ प्रधानमन्त्रीज्यू भनेर सोध्ने छौँ । कर्णालीलाई राज्यले कहिले सुन्ने ?’

प्रतिक्रिया दिनुहोस्