बेंसीसहरमा आगलागी, ५० लाखको क्षति



लमजुङः लमजुङ सदरमुकाम बेंसीसहरको भीमसेनस्थानमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ। बेंसीसहर नगरपालिका–८, भीमसेनस्थानका होमबहादुर रानाको एकतले घरमा सोमबार मध्यराति आगलागी भएको हो।

आगलागीमा परी उक्त घरमा भाडामा उत्तरबहादुर परियारले सञ्चालन गरेका टेलर तथा कपडा र रूपेश थापा मगरको कम्प्युटर इन्स्टिच्युट जलेर नष्ट भएका हुन्। दुवैमा गरेर करिब ५० लाख रुपैयाँ बराबरको सामान क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

राति १२ बजे लागेको आगो स्थानीय, प्रहरी र दमकलको सहायतामा एक घण्टामा नियन्त्रणमा लिइएको लमजुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्य घरमा आगो सल्किनबाट जोगाइएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरिक्षक यादव ढकालका अनुसार आगलागीबाट क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्