मुस्ताङमा सडकछेउका घरटहरा पुनः नक्सांकन हुँदै



म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङमा आज (मंगलबार)देखि कालिगण्डकी करिडोर प्रभावित घरटहराहरुको पुनः नक्सांकन (सडक मापदण्ड नक्सांकन) हुने भएको छ। आइतबार मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न कालिगण्डकी करिडोरका प्रतिनिधि र स्थानीयवासीहरुबीच भएको सहमतिअनुसार प्रभावित क्षेत्रको पुनः मार्किङ हुने भएको हो ।

जोमसोम मुस्ताङको सदरमुकाम र यहाँ विमानस्थलसमेत भएकाले यसको मापदण्ड निर्धारण गर्दा निकै विचार पु¥याइनु पर्ने स्थानीयको माग छ । त्यसैगरी यहाँ थुप्रै होटल तथा रेष्टुरेन्ट रहेका छन् । करिरडोरले बजार क्षेत्र हुँदै सडक बिस्तार गर्ने भएपछि यहाँका सबैजसो घर मापदण्डमा परेका छन् । आयोजनाले घर टहरा भत्काउन जानकारी गराएपछि उनीहरुले सडक मापदण्ड अपारदर्शी रहेकाले पूनः रेखाङकन गर्न माग गरेका हुन्।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा  सबैभन्दा बढी घरटहरा जोमसोमक्षेत्रका परेका भन्दै स्थानीयले बिरोध जनाएपछि पुनः नक्साङ्कन हुन लागेको कालीगण्डकी करिडोर आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए।

सडक निर्माण मापदण्डको सरोकारवालालाई नीतिगत जानकारी गराउँदै आयोजना प्रमुख  अधिकारले सडकको मापदण्डमा पर्ने संरचनाहरुलाई समयमै स्थान्तरण गरेर सडकको क्षेत्र खाली गरी निर्माण गर्न सरोकारवालासँग छलफल भएको बताए। बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनीदेखि जोमसोमसम्म ४ खण्ड र जोमसोमदेखि कोरलासम्म ७ खण्डमा काम थालेको छ। करिडोरले सडक मापदण्ड कायम गर्न साविक सडकको मध्यभागबाट दायाँ–बायाँ साढे ५ मिटर ओगट्ने गरी ११ मिटरको सडक खाका तयार गरेको हो। 

सडकको दुवै साइडबाट कुल ११ मिटर ओगट्ने गरी डिजाइन तथा कन्ट्रक्सन भएको उनको भनाइ छ। करिडोरका इन्जिनीयर जगत प्रजापतीले जोमसोमका सरोकारवालाको अनुरोधमा सडक मापदण्डको पुनः रेखाङ्कन गरिने जानकारी दिए। सडक मापदण्डमा पर्ने विद्युत्, खानेपानी, टेलिफोन र ढलजस्ता संरचना आदिको उचित व्यवस्थापन गर्दै सडक निर्माणको कामअघि बढाइने उनले बताए।

नदी कटान रोकी सडक बचाउन करिडोरले जोमसोमका २ स्थानमा करिब २ सय मिटर बढी ५ मिटर अग्लो आरसीसी ढलानसहित ग्याबिन राखेर तटबन्ध लगाउने योजना रहेको इन्जिनीयर प्रजापतीको भनाइ छ।

जोमसोममा कालोपत्रे होइन आरसीसी ढलान

कालीगण्डकी करिडोरअन्तरगत अन्य क्षेत्रमा कालोपत्रे गरिए पनि जोमसोम बजार क्षेत्रमा कालोपत्रे नभई आरसीसी ढलान गर्ने आयोजनाले जनाएको छ । कालोपत्रे गर्दा मेसिनहरुको भाईब्रेसनको असरले घरहरु जोखिममा पर्ने भएकाले आरसीसी ढलान गर्न उपयुक्त हुने आयोजनाका इन्जिनियर  जगत प्रजापतिको भनाई छ। नदी कटान रोकी सडक बचाउन करिडोरले जोमसोमका २ स्थानमा करिब २ सय मिटर बढी ५ मिटर अग्लो आरसीसी ढलानसहित ग्याबिन राखेर तटबन्ध लगाउने योजना रहेको इन्जिनियर  प्रजापतीले जानकारी दिए। 

मुआब्जा नपाएसम्म काम अघि नबढाउन चेतावनी

मापदण्ड तथा बस्ती हटाउने विषयमा भएको छलफलमा पुथाङ गाउँ समाजले सडक मापदण्ड १ मिटर घटाउन ज्ञापनपत्र बुझाएको छ । यस्तै, जोमसोमबासीले घर टहराको मुआब्जा उपलब्ध नगराएसम्म सडक निर्माणकार्य अघि बढ्न नदिने चेतावनी दिएका छन्। सरोकारवालाले सर्वोच्च अदालतलेनै मापदण्डमा परेका संरचना हटाउदा पहिला मुआब्जा उपलब्ध गराउनुपर्ने उल्लेख भएकाले सोअनुरूप हुनुपर्ने तर्क राखेका छन्। छलफलमा सडक विस्तार र बस्ती र बस्तीका संरचना जोगाउन विभिन्न प्रकारका सुझाव पेश गरेका थिए।

छलफलमा पूर्वसभासद चन्द्रबहादुर थकाली, नेकपाका रमेश भट्टचन, नेपाली कांग्रेसका गणेश शेरचन, गाउँपालिका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरूङ, निर्माण व्यवसायी संघका अध्यक्ष जयन्द्रलाल थकाली, गाउँ मुखिया रामप्रसाद शेरचन, यातायात व्यवसायी राजु लालचन, पत्रकार भीमबहादुर रसाइली, तिलक विक, नागरिक समाजका अगुवा चन्द्रबहादुर थकाली र खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र शेरचनले सडक निर्माण तथा मापदण्ड आदिलगायत बिषयमा सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्