अनलाइनखबरलाई कारवाही गर्न सरकारको निर्देशन



काठमाडौं : प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रदेश २ लाई ‘मधेस’ र जनकपुरधामलाई ‘राजधानी’ भनेको आरोपमा अनलाइनखबरमाथि कारवाही गर्न निर्देशन दिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाएको सर्कुलरमा ‘अनलाइनखबरले प्रदेश २ को राजधानीको नाम लेखेको सम्बन्धमा प्राथमिकतामा राखी कारवाही गर्न’ निर्देशन दिइएको छ। 

प्रधानमन्त्री कार्यालयले कारबाही गर्ने पत्र चैत १ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो।

सरकारको निर्देशनलाई अनलाइनखबरले समाचार बनाउँदै केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतको सरकार सञ्चारमाध्यममा सेन्सरसिप लगाउन र मधेसमाथि समेत सेन्सरसिप लगाउन उद्दत रहेको आरोप लगाएको छ। 

प्रधानमन्त्री कार्यालयले अनलाइनखबरमाथि प्राथमिकताका साथ कारवाही अघि बढाउन निर्देशन दिएको करिब एक सातापछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत ५ गते ‘आवश्यक कारवाहीका लागि’ भन्दै प्रेस काउन्सिललाई कारवाही गर्न निर्देशन दिएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र उद्धृत गर्दै सञ्चार मन्त्रालयले अनलाइनखबरमाथि आवश्यक कारवाही गर्न प्रेस काउन्सिललाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्