‘लकडाउन, कर्फ्यू वा संक्रमण फैलिएको ठाउँ सील’ भन्नेबारे सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय लिने



काठमाडौँ : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कस्तो विधि अपनाउने भन्नेबारे संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक मंगलबार बस्ने र उक्त बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएका क्षेत्रमा लकडाउन गर्ने, कर्फ्यू लगाउने वा निश्चित ठाउँ सिल गर्ने भन्नेबारे सीसीएमसीको मंगलबारको बैठकले प्रस्ताव ल्याउने र सोही आधारमा मन्त्रिपरिषद्ले निर्णय लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘कोरोना नियन्त्रण तथा रोकथाममा निर्णय लिन भोलि मंगलबार सीसीएमसी बैठक बस्ने भनेको छ । बुधबार सीसीएमसीमा नभएका मन्त्रीसहित (मन्त्रिपरिषद्) बैठक बसेर अन्तिम निर्णय लिइने भन्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।

बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट निजी अस्पताललाई कोरोना संक्रमितको उपचारमा कुन विधिबाट प्रयोगमा ल्याउने भन्नेबारे निर्णय हुने ती मन्त्रीले बताए । त्यसको खाका भने मंगलबार बस्ने सीसीएमसीको बैठकले तयार पार्नेछ ।

‘निजी अस्पताललाई प्रयोग गर्ने, भेन्टिलेटरका व्यवस्था गर्ने भन्ने निर्णय सीसीएमसीको खाकामा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ,’ ती मन्त्रीले थपे, ‘कोरोना रोकथाम गर्नका लागि लकडाउन गर्ने कि, निश्चित क्षेत्रमा खण्डखण्ड गरेर सिल गर्ने कि, कर्फ्यू लगाउने भन्ने प्रस्ताव पनि सीसीएमसीले ल्याउने र बुधबार सीसीएमसीमा नभएका मन्त्री पनि बसेर निर्णय लिने भन्ने भयो ।’

विदेशमा उद्दारको पर्खाइमा रहेकालाई कसरी ल्याउने भन्नेबारे पनि सोही दिन निर्णय लिइने ती मन्त्रीले जानकारी दिए ।

बाढी र पहिरो पीडितको उपचार सरकारले गर्ने

मन्त्रिपरिषद्को बैठकले बाढी र पहिरोलगायतका प्राकृतिक प्रकोप पीडितको उपचार सरकारले गर्ने निर्णय गरेको छ ।

एक मन्त्रीका अनुसार मृतकका परिवारलाई यसअघि नै बाढी, पहिरो र डुबानबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख दिने निर्णय गरेको थियो । ती मन्त्रीका अनुसार मृतकका परिवारलाई राहत दिने हकमा यसअघिको निर्णयलाई नै निरन्तरता दिइएको छ ।

बाढी र पहिरोबाट घर भत्किएका परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले राहत दिने पनि निर्णय भएको छ । ‘घर भत्काएका, बगाएका, पुरेकाको हकमा पुनर्निर्माण प्राधिकरणले भूकम्प जाँदाखेरि दिएको राहतको प्रावधानअनुसार नै दिने भन्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।

अब पार्टी एकजुट भएर अगाडि बढ्छ- प्रधानमन्त्री

सत्तारुढ नेकपाभित्रको विवादले केही समययता तनावमा रहेका प्रधानमन्त्री सोमबारको मन्त्रिपरिषद् बैठकमा भने ‘फ्रेस मुड’मा उपस्थित भएको एक मन्त्रीले जानकारी दिए । पार्टीभित्रको विवाद साम्य भएको र अब एकढिक्का भएर अगाडि बढ्ने मन्त्रीहरूलाई ब्रिफिङ गरेको ती मन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीको भनाइ उल्लेख गर्दै ती मन्त्रीले भने, ‘पार्टीभित्र छलफल, बहस गरिरहँदा असहज परिस्थिति थियो । अब सकरात्मक ढंगले अगाडि बढेको छ । यो राम्रो पक्ष हो ।’

‘प्रधामन्त्रीले पार्टी एकजुट भएर अगाडि बढ्छ भन्ने झल्को दिनुभयो,’ मन्त्रीको भनाइ थियो । मन्त्रिपरिषद् बैठकका निर्णय भने बिहीबार सरकारका प्रवक्ता युवराज खतिवडाले आधिकारीक रूपमा सार्वजनिक गर्ने गरेका छन् । कान्तिपुर दैनिकमा जयसिंह महराले लेखेका छन् ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्