७ सय ५१ स्थानीय तहमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम



काठमाडौं : नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५१ स्थानीय तहसंग सम्झौता भएको छ । सम्झौता भएकामध्ये ७४० स्थानीयतहमा पालिका समिति समेत गठन भइसकेको छ ।  

समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने मूलभूत उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए  । पाँच महीनाअघि नेपाल प्रहरीले थालेको उक्त अभियानअन्तर्गत सात प्रदेशमा १६ हजार बढी समिति निर्माण भएको सुवेदीले जानकारी दिए  ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडा समिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।

प्रहरीका अनुसार प्रदेश नं १ मा एक हजार २७६, प्रदेश नं २ मा दुई हजार २४८, प्रदेश नं ३ मा दुई हजार ८३, प्रदेश नं ४ मा एक हजार ७४२ प्रदेश नं ५ मा तीन हजार १६९, कर्णली प्रदेशमा दुई हजार ३८८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार १९५ वटा समिति गठन भएका छन् ।

कार्यक्रम सञ्चालनका लागि १० हजार बढी प्रहरी कर्मचारीलाई प्रशिक्षण गराएर स्थानीय तहमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्