पार्टीविरोधी गतिविधि गर्ने नेता कार्यकर्तामाथि कांग्रेसले कारवाही गर्ने



काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले  अनुशासन समितिको कार्यविधि २०७५ पारित गरेको छ। समिति संयोजक रहेका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले पार्टी हितविपरीत गतिविधिमा संलग्न सदस्यविरुद्ध अनुसन्धान थाल्ने निर्णय पनि गरेको छ।

समितिले त्यस्ता गतिविधिविरुद्ध प्रमाणसहित अनुशासन समितिमा जानकारी दिन आग्रह गरेको छ। समितिले २०७५ चैत मसान्तभित्र आएका उजुरीको मात्र छानबिन गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैठकले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीत काम, कारवाही र गतिविधि मौखिक वा लिखित अभिव्यक्ति दिए वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट नगर्न पार्टी नेता तथा कार्यकर्तालाई सचेत गराएको छ।

त्यस्ता काम पार्टीको अनुशासन समितिको क्षेत्राधिकारमा पर्ने भएकाले पार्टीविरोधी त्यस्ता कुनै पनि गतिविधि नगर्न नगराउन समितिको बैठकले पार्टीका नेता कार्यकर्ता सबैसँग आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस्