कोटेश्वर–कलंकी चक्रपथखण्डमा ट्र्याक कहिले बन्ला ?



काठमाडौं : कोटेश्वर–कलंकी ८ लेनको चिल्लो सडकमा सबै किसिमका सवारीसाधन सररर हुँइकिइरहेका छन्। चीनले ५ वर्ष लगाएर विस्तार गरेको चक्रपथको यो सडकखण्ड केही समयअघि मात्र सरकारलाई हस्तान्तरण गरेको हो। 

तर चक्रपथको यो खण्डमा सडकको दुवैतिर नेपालले बनाउनु पर्ने एक–एक लेन सर्भिस ट्र्याकको काम भने लथालिंग छ। सडकखण्डसँगै निर्माण गर्नुपर्ने सर्भिस ट्र्याकको काम अघि बढेको छैन।

‘सरकारले थालेको कुनै काम समयमा कहिले सकिँदैन। यतिका वर्ष भैसक्यो ट्र्याक बनाउन सुरु गरेको, ट्र्याक नबनेकाले पानी पर्दा हिलो भएर हिँड्नै सकिन्न’, कोटेश्वर बस्ने सिर्जना भुजेल भन्छिन्, ‘घाम लाग्दा धुलो उड्छ, खाल्डाखुल्डी भएकाले हिँड्डुल गर्न कठिन हुन्छ।’ 

यस्तै एकान्तकुना बस्ने सुरक्षा अर्याल पनि ट्र्याक नबन्दा हिँड्न धेरै समस्या भएको बताउँछिन्। उनले भनिन्, ‘कहीं माटो थुपारेको छ त कहीं ढुंगा। कहीं फोहोर थुपारेको छ, जता पायो त्यतै पसल राखिएका छन्। दिनहुँ आवतजावत गर्नु पर्छ, कति दिन समस्या खेपिरहने ? केही स्थानमा आकासे पुल बनाउन थाले पनि निर्माण सुस्त छ। पुल नबन्दा बाटो काट्न धेरै समस्या छ, ज्यान जोखिममा राखेर हिँड्नु परेको छ।’

ट्र्याक निर्माण गर्नुपर्ने जिम्मा पाएको काठमाडौं चक्रपथ सुधार आयोजनाका सिडिई अमृत रिमालले ठाउँठाउँमा आकासे पुल र ट्र्याक निर्माणको काम भैरहेको दाबी गरे। उनले आगामी आर्थिक वर्षसम्म आकासे पुल र ट्र्याक बनिसक्ने पनि बताए। 

उनले कतिपय ठाउँमा बिजुलीका पोल सार्नुपर्ने, घरटहरा हटाउनु पर्ने र त्यसका लागि मुआब्जा वितरणलगायत कामले ट्र्याक निर्माणमा ढिलाइ भएको स्वीकार गरे। 

‘काम ढिलो भयो भन्नु स्वाभाविक हो, स्थानीयले नै काम गर्न दिएनन्, अनि कसरी हुन्छ काम ?’, उनले भने, ‘घरटहरा भत्काउन सहज बनाइदिनु पर्‍यो, अनि पो काम हुन्छ। उनीहरू नै टेर्दैनन्। अझ ७/८ किलोमिटर सडकखण्डमा त ठेक्का नै लाग्न सकेको छैन। नयाँ ठेक्का प्रक्रियामा जान केही समय लाग्छ र काम सकिन त झन् एक डेढ वर्ष नै लाग्छ।’

चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपले २०७० सालदेखि ८ लेनको सडक विस्तार गर्न थालेसँगै निर्माण सुरु भएको ट्र्याक कहिले बन्ला ?

प्रतिक्रिया दिनुहोस्