मन्त्री यादवद्वारा वीरगन्ज चिनी कारखानाको अनुगमन



वीरगन्ज : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले डेढ दशक देखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको निरिक्षण गरेका छन् । मङ्गलवार उद्योगको निरीक्षणका लागि पुगेका मन्त्री यादवले चिनी कारखानामा रहेका उपकरणको अवस्थारे बारे बुझ्न आएको बताए । उनले उद्योगमा रहेका उपकरण जिर्ण हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको सरसफाइ नियमित गर्न कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

मन्त्री यादवसँगै सर्वोच्च अदालत र उच्च अदालत जनकपुरका न्यायाधीशहरू पनि वीरगन्ज पुगेका थिए । कारखाना परिसरमै सञ्चालित जनकपुर उच्च अदालतको अस्थायी इजलास बस्दै आएको भवन निरीक्षण गर्न टोली त्यहाँ पुगेको हो । 

मन्त्री यादवको टोलीले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवन लगायतका पूर्वधार एकै स्थानमा निर्माण गर्दा न्याय सम्पादन प्रभावकारी हुने भन्दै त्यसका लागि जग्गा समेत हेरेका छन् । 

चिनी कारखानाको स्वामित्वमा रहेको जग्गा मध्ये कित्ता नं. ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने नहुने बारे काठमाडौं फर्केपछि थप छलफल गर्ने मन्त्री यादवले जानकारी दिए । 

मन्त्री यादवसँगै टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, उच्च अदालतको अस्थायी इजलास वीरगन्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्य लगायत थिए ।

प्रतिक्रिया दिनुहोस्