कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका सांसदहरूसँग मंगलबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले गतवर्षको बजेट विनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरू छुटेको बताउँदै यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताए।

“गतवर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर, यसपाली त्यो क्रम दाहोरिँदैन”, प्रधानमन्त्री ओलीले भने, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ।” ओलीले जनसंख्याका आारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताए। “कर्णालीको भुगोलको विशिष्टता बेग्लै छ”, उनले भने, “यस भुगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनुपर्दछ।”

कर्णाली सम्भावनायुक्त प्रदेश भएकोले देशको विकास र समृद्धिमा यस प्रदेशको भुमिका महत्वपूर्ण हुने ओलीले बताए। “यहाँको खनिज,जलस्रोत,जडिबुट्टीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ।” प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरूको विवरण वैशाखको पहिलो हप्ता भित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउँन सांसदहरूलाई निर्देशन दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्