सर्लाही । प्रदेश नम्बर २ अन्तर्गत पर्ने सर्लाहीका अधिकांश सडकको अवस्था नाजुक बनेको छ । वर्षातमा हिलाम्ये र अरुबेला धुलो उड्ने सडक देखेर सर्लाहीवासी हैरान बनेका छन् ।
धेरैलाई लाग्न सक्छ, सर्लाही जिल्लामा विकासका पूर्वाधारको गतिलै विकास भएको छ । राजपाका केन्द्रीय अध्यक्षदेखि अध्यक्षमण्डलका प्रभावशाली नेताहरुको गृहजिल्लाका भएका कारण यो अनुमान लगाउनु स्वाभाविक नै हो । तर यथार्थमा यहाँको अवस्था अर्कै छ ।
विकासका पूर्वाधारको पहिलो मापक मानिने सडकको अवस्था सर्लाहीका सडकमा पानी परेको बेला रोपाइ गर्ने खेतजस्तो र पानी नपरे धुलाम्मे देखिन्छ । सदरमुकाम पुग्नेदेखि अन्य ठाउँका मुल र शाखा सडकको अवस्था करिबकरिब यस्तै छ । त्यसैले त आफूहरुको मर्का कसैले नबुझेको स्थानीय हरिचन्द्र यादवको दुखेसो छ ।
जिल्लाका कतिपय स्थानको सडक निर्माणाधीन त छ तर कामको गति भने उदेकलाग्दो छ । फुलजोर–त्रिभुवननगर सडकखण्ड, संग्रामपुर–पर्सासडक, नयाँरोड–मधुवनीसडक र हरिवन–कौडेना सडकखण्ड लगायतका स्थानको सडक निर्माणको गति पनि मन्द छ ।
त्यसमध्येको नवलपुर–मलङवा सडकचाहिँ ठेकेदारसँग सहजीकरण गरिरहेको र अब छिट्टै सडक निर्माणले गति लिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल बताउँछन् ।
भएका सडकहरु पनि मर्मतसम्भार नहुनु र निर्माणाधीन सडक पनि जेनतेन टार्ने किसिमले भइरहेको देख्दा स्थानीयवासी भने आक्रोशित छन् । उनीहरुको आक्रोश जनप्रतिनिधि केन्द्रित नै छ ।