सप्तरी जिल्लामा लगाइएको निषेधाज्ञा भदौ १५ गतेसम्म रहने



जनकपुरधामः प्रदेश २ मा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकोले सप्तरी जिल्लामा लगाइएको निषेधाज्ञाको समयअवधि पुनः थपिएको छ ।

निषेधाज्ञा आज (मंगलबार) राती ११ बजेदेखि लागु हुनेछ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले थप कडाई गरिएको बताए ।

प्रजिअ आचार्यले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु आज राती ११ बजेदेखि भदौ १५ गते राती ११ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्लाभरी नगर्न÷नगराउन निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

यसअघि साउन १९ गतेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार राजविराज नगरपालिका लगायत सप्तरी जिल्ला क्षेत्रमा साउन २० गते बिहान ५ बजेबाट साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि साउन २५ गतेको जिल्ला सुरक्षा समितिको निर्णयबाट थप भई हाल भदौ २ गते राती ११ बजेसम्मका लागि निषेधाज्ञाको समयअवधि बढाइएको थियो ।

प्रशासनले सप्तरी जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय भन्दा बढि रहेको र जिल्लाको बिभिन्न स्थानहरुमा संक्रमितको संख्या बढिरहेको देखिएको हुँदा राजनैतिक दल, नागरिक समाज लगायतको जिल्ला संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकबाट भएको सिफारिसको आधारमा निषेधाज्ञालाई सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रभरि निरन्तरता दिएको छ ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

आगामी दिनमा कुनैपनि धर्मको चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरि आ-आफ्नो घरमै सुरक्षित साथ चाडपर्व मनाउन अनुरोध गरिएको छ । प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रकाशितः २ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्