ग्यास सिलिन्डर पड्कँदा चारै जनाको मृत्यु भएको पुष्टि



सिन्धुपाल्चोक : सीमावर्ती भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा ग्याँस सिलिण्डर पड्किएर भएको दुर्घटनामा परी स्टोरकिपरसहित चारै जना कामदारको ज्यान गएको पुष्टि भएको छ।

आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनी छ्योरोल्पा कन्स्ट्रक्सन (सिआरी) को स्टोरमा सोमबार साँझ ग्याँस सिलिण्डर पड्किएको थियो। घटनास्थलमा दुई जनाको शवभेटिए पनि बाँकी दुईको भेटिएको थिएन। घटनाको अनुसन्धान गर्न आयोजनास्थल पुगेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर यादव थापा नेतृत्वको टोलीले मंगलबार हराएका दुईको समेत शब फेला पार्दै चारै जनाको मृत्यु भएको पुष्टि गरेको हो।

‘दुईको शव क्षतविक्षत अवस्थामा स्टोर र आसपासमा भेटिए,’ इन्स्पेक्टर थापाले भने, ‘बाँकी दुई शव स्टोरको तीन सय मिटर दुरीमा फेला पार्‍यौँ।’ उनका अनुसार स्टोरमा भेटिएका शब टुक्रा–टुक्रा भएर छरिएका थिए। स्टोरबाट टाढा फेला परेका शवका खुट्टा र पेट दुई टुक्रामा छुट्टिएका थिए। शरीरका भाग र टुक्रा संकलन गरी बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएका शब परिवारको सदस्यको सहयोगमा पहिचान गरिएको उनले जानकारी दिए।

घटनामा मृत्यु हुनेमा स्टोरकिपर सुन्दुक लामा (हुम्ला), गोपाल श्रेष्ठ (ओखलढुंगा), यक्ष थापा (कमवानपुर) र भाइकाजी भनिने पाशाङनोर्बु शेर्पा (दोलखा) रहेको प्रहरीले जनाएको छ। ‘स्टोरमा ग्याँस सिलिण्डर पड्किएर घटना भएको पुष्टि भए पनि कसरी पड्किए भन्नेबारे एकीन हुन सकेको छैन,’ घटनास्थलबाट फर्केपछि इन्स्पेक्टर थापाले भने। उनका अनुसार जस्ताले बनाइएको स्टोरको छानो र भित्तो छेडिएको छ भने नजिकैको अर्को टहरोमा पनि क्षति पुगेको छ।

ठेकेदार कम्पनी सिआरसीका कर्मचारीले प्रहरीलाई दिएको जानकारीअनुसार स्टोरकिपरसहितका कामदार कहिँलेकाँही स्टोरमै खाजा र खाना बनाएर खान्थे। घटना साँझ ५ बजेतिर भएकाले खाजा बनाइरहेको र सो क्रममा सिलिण्डर पड्किएको हुन सक्ने थापाको अनुमान छ। ‘तर घटनास्थलको प्रकृतिअनुसार अनुसन्धान नगरी यसै भएको भनेर निष्कर्ष निकाल्न सकिँदैन,’ उनले भने। घटनाका बेला मृतकहरु स्टोरमा के गर्दै थिए भनेर आसपास रहेका सिआरसीकै कर्मचारी र कामदारले बताउन सकेका छैनन्।

सानो स्टोरमा पाँचदेखि १० वटा भरिएका ग्याँस सिलिण्डर मौज्दात रहने जानकारी प्रहरीले पाएको छ। घटनाका बखत ग्याँसका कतिवटा सिलिन्डर थिए भनेर कसैलाई जानकारी नरहेको प्रहरीले जनाएको छ। स्टोरमा क्षति नभएको अवस्थामा एचपी कम्पनीका ग्याँसले भरिएका पाँच सिलिण्डर भेटिएको इन्स्पेक्टर थापाले जनाए। घटनास्थल र शवको प्रकृति, टहरोमा भएको क्षति हेर्दा एकभन्दा बढी सिलिन्डर पड्केको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

‘पड्किएका सिलिन्डर र तिन्का टुक्रा वा भाग फेला पार्न सकिएको छैन,’ इन्स्पेक्टर थापाले भने, ‘नजिकै अनकन्टार भिर रहेकाले उछिट्टिएर त्यता पुगेको हुनसक्छ। तर अफ्ठेरो रहेकाले भिरसम्म जान सकेनौँ।’ पड्किएका सिलिण्डर नभेटिएकाले ती एचपी कम्पनीकै थिए वा अन्य कम्पनीका हुन भन्नेबारे पनि खुल्न नसकेको उनले बताए।

शिवश्री हाइड्रो पावर कम्पनीले साविक मार्मिङ र फूल्पिङकट्टी गाविसमा २२ मेगावाटको आयोजना बनाइरहेको छ। कम्पनीका सञ्चालक उमेश कसजू भने चट्याङ लागेर ग्याँस सिलिण्डर फड्केको हुन सक्ने बताउँछन्। ‘घटनाको समयमा हावाहुरीसहित पटक–पटक चट्याङ गएको जस्तो आवाज आएको जानकारी पाएका छौँ,’ उनले भने।    

प्रतिक्रिया दिनुहोस्