सुदूरपश्चिम प्रदेश सरकारप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि



कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका क्रियाकलापप्रति सत्तापक्षकै सांसदहरूले असन्तुष्टी जनाएका छन्। उनीहरूले प्रदेश सभामा सरकारको चर्को आलोचना गरेका छन्। सांसदहरूले संसदको शून्य समयमा बोल्दै पछिल्लो समय लगातार असन्तुष्टि ब्यक्त गर्ने क्रम बढ्दै गइरहेको छ।

सभामा बजेट खर्च, योजना कार्यान्वयन, बढ्दो अनियमिता, आर्थिक चलखेल, ढिला सुस्ती र  प्रदेश आकस्मिक कोष सञ्चालन गर्न नसकेको जस्ता विभिन्न आरोप लागिरहेका छन्। यहि आइतबार बसेकोे प्रदेश सभा बैठकमा बोल्ने सत्तारुढ दलका सांसद हर्कबहादुर कुँवर, पूर्णा जोशी र महेशदत्त जोशीले सरकारको गतिविधि सुस्त भएको आरोप लगाएका थिए।

अर्थ विकास तथा प्राकृतिको स्रोत समितिका सभापति समेत रहेका सांसद कुँवरले सरकारले प्राकृतिक बिपतमा परेकालाई राहत दिन नसकेको गुनासो गरेका थिए। उनले विकास बजेट खर्च गर्न नसकेको र आफूहरूले संसद्मा उठाएको विषयमा जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद कर्ण मल्ल र डिल्लीराज पन्तले विकास निमार्णका गतिविधिमा सरकारले चासो नदिएको आरोप लगाए। उनले ठूला विकास योजनामा सरकारी निकायले चासो नदिँदा ढिला सुस्ती हुने भइरहेको जानकारी गराए। विशेष समयमा राष्ट्रिय जनता पार्टी राजपाका सांसद कृष्ण बहादुर चौधरीले सरकारले सदनलाई विधेयक दिन नसकेको भन्दै सदन अन्त्यको माग गरे। 

त्यस्तै मंगलबार बसेको प्रदेश सभाको बैठकमा पनि सत्तापक्षका सासंद सरकारप्रति उग्ररुपमा खनिए। बैठकमा शून्य समय लिएर बोल्दै सत्तापक्षका सांसदले प्रदेश सरकारको कडा आलोचना गरेका छन्।शून्य समयमा सत्तापक्षबाट अर्चना गहतराज, कुन्ती जोशी, माया तामाङ बोहरा, दुर्गा कामी र देवकी मल्लले बोलेका थिए।

प्रदेश सभाको बैठकमा सत्तारुढ नेकपाका सासंदहरूले प्रदेश सरकारले नीतिगत रुपमा ब्यवस्था गरेका कुरा कानुन बनाएर कार्यान्वयन गर्ने बिषयमा सरकार उदासीन बनेको आरोप लगाए। गत वर्षको प्राकृतिक प्रकोपबाट पीडित भएका जनताले हालसम्म पनि राहत पाउन नसकेको भन्दै नेकपाका सासंद कुन्ती जोशीले आकस्मिक राहत कोष बनेको के का लागि हो जवाफ दिन सरकारसँग माग गरिन्। सत्तापक्ष नेकपाकै सासंद दुर्गा कामीले जनताले प्रदेशसमा सरकार भन्ने कुराको अनुभूति गर्न कहिले पाउने भनि प्रश्न गरिन्। 

सत्तापक्षका अर्का सांसद देवकी मल्लले बझाङको केदारस्यूँ गाउँपालिकामा पहिरोबाट एकजनाको ज्यान गएको र दुई जना घाइते भएकोले मृतकका आफन्तलाई राहत र घाइतेको उपचारमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरिन्। सत्तापक्षकै सासंद माया तामाङ बोहराले सरकारसँत जनताले अपेक्षा धेरै गरेको भएपनि सरकारले जनताको अपेक्षामा खरोसंग काम गर्न नसकेको आरोप लगाइन। 

प्रतिक्रिया दिनुहोस्