मकवानपुर गोल्डकप : सरस्वतीलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा 



मकवानपुर : रुस्लान थ्री स्टार क्लब हेटौंडामा जारी दोस्रो मकवानपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाईनल खेलमा सरस्वती युथ क्लबलाई २–० गोलले पराजित गर्दै थ्री स्टार अन्तिम ४ मा प्रवेश गरेको हो।

थ्री स्टारको जितमा २५ औं मिनेटमा विदेशी खेलाडी मान्सा बेभोगुई र ६० औं मिनेटमा पिटर सेगुनले गोल गरे। खेलको ‘म्यान अफ दि म्याच’ पिटर नै घोषित भए। थ्री स्टारले अब सेमिफाइनलमा क्यामरुनको दाउफिन्स एफसीको सामना गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा बुधबार नेपाल पुलिस क्लबले आयोजक मकवानपुर ११ को सामना गर्नेछ।

चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली मकवानपुर ११, विदेशी क्लब दाफिन्स एफसीसहित ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस्