पुनर्निर्माणमा खटिएका प्राविधिकहरुद्वारा आन्दोलन स्थगित



काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन् । 

नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच  भएको सहमति अनुसार पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्ता सहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले पूर्ण प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच छलफल भई गरिएको निर्णयमा आजकै मितिदेखि आन्दोलनका कार्यक्रम स्थगन गरी काममा फर्कने निर्णय गरियो भन्ने उल्लेख गरिएको छ ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अर्थ मन्त्रालयको सहमति अनुसार प्राविधिकहरुलाई प्रोत्सान भत्ता लगायतका सुविधाबारे उल्लेखित समयमै मन्त्रिपरिषद् बाट निर्णय आउने विश्वास व्यक्त गरे । 

 

यही चैत्र १० गते अर्थ मन्त्रालयले प्राविधिकहरुलाई प्रोत्साहन भत्ता लगायतका सुविधा उपलब्ध गराउने  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावमा सहमति प्रदान गरेको थियो । 

यसअघि नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच तीन बुँदे सहमति भएको थियो । प्राविधिक राष्ट्रिय हकहित समितिले गत साउनदेखिकै अतिरिक्त समय काम गरे वापतको  भत्ता एवं दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने लगायतमा माग राखी दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्