विप्लवका सुनसरी जिल्ला सदस्य पक्राउ



इटहरी : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध अप्रेसन चलाइरहेका बेला पूर्वबाट धमाधम नेता तथा कार्यकर्ता पक्राउ पर्न थालेका छन्।  सोहि क्रममा मंगलबार दिउँसो इटहरीबाट विप्लवका सुनसरी जिल्ला सदस्य पक्राउ परेका छन्।

प्रहरीका अनुसार मोरङ मोतिपुर स्थायी घर भई इटहरी वडा नं. ५ तुलसा टोलमा बस्दै आएका सूर्य भन्ने रमेश खड्का पक्राउ परेका हुन्। ४१ वर्षीय उनी इटहरी वडा नं. ४ बाट पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा खड्का पूर्व माओवादी लडाकु हुन्। उनी सुनसरी जिल्ला सदस्य भए पनि मोरङ र धनकुटामा समेत पार्टीको काम सक्रियतापूर्वक गर्दै आएको खुलेको छ।

पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको जिम्मा लगाउने तयारी भएको छ। प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर धरान प्रहरीको जिम्मा लगाउने सोच बनाए पनि केन्द्रीय प्रहरी कार्यालयबाट अनुमति लिन बाँकी रहेको जानकारी दिइएको छ।

विप्लव नेतृत्वका नेता–कार्यकर्ता पक्राउ पर्ने क्रममा आइतबार राति मात्र मोरङबाट कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र ब्यूरो सदस्य माधव गौतम पक्राउ परेका थिए। यी दुवै जनालाई मंगलबार प्रहरीले संगठित अपराध र हातहतियार तथा खरखजना मुद्धामा म्याद थप गरेर अनुसन्धान थालेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूविरुद्ध पाँच दिनको म्याद थपेर अनुसन्धान थालिएको हो। 

गएकाे फागुन दोस्रो साता विप्लवका कोशी ब्युरो सदस्य सन्देश भनिने देवकुमार लिम्बूलाई २ थान अत्याधुनिक हतियारसहित प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध पनि प्रहरीले संगठित अपराध र हातहतियार तथा खरखजना मुद्धामा अनुसन्धान भइरहेको छ। लिम्बूको  साथबाट त्यतिबेला प्रहरीलले एम १६ र एलएमजी एक–एक थान बरामद गरेको थियो। एम १६ नेपाली सेनाले मात्र प्रयोग गर्छ भने एलएमजी सशस्त्र प्रहरीसँग पनि छ।

सुरक्षा अधिकारीका अनुसार एलएमजीमा ३० राउण्ड र एम १६ मा ४० राउण्ड गोली लाग्छ। अत्याधुनिक हतियारसहित लिम्बू पक्राउ परेपछि प्रहरीले सुनसरी र मोरङमा पुरै सक्रियता बढाएको थियो। प्रहरीका अनुसार लिम्बुको साथबाट बरामद गरिएको हतियारको मुद्धामै मंगलबार पक्राउ परेका खड्कासँगै मोरङबाट पक्राउ परेका श्रेष्ठ र गौतम संलग्न भएकोमा प्रहरीको दाबी छ। 

प्रतिक्रिया दिनुहोस्