जिपको ठक्करबाट एक प्रहरीको मृत्यु, एक घाइते



पोखरा : बोलेरो जिपको ठक्कर दिँदा पोखरामा एक प्रहरी जवानको ज्यान गएको छ । साथै दुर्घटनामा अर्का एक प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।

कास्कीमा मंगलबार राति १२ बजेबाट निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञा जारी भएको एक घण्टा पछि नै मंगलबार राति करिब एक बजे मालेपाटनमा ग २ च २६२६ नम्बरको बोलेरो जिपले प्रहरी सवार रहेको ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी जवान २० वर्षीय चन्द्रबहादुर बगालेको ज्यान गुमेको प्रहरीले जानकारी दिएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले ठक्करबाट गम्भीर घाइते प्रहरी जवान बगालेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएकोमा राति १ बजेर ५० मिनेटमा ज्यान गुमेको होे ।

दुर्घटनामा क्विक रेस्पोन्स टिमका ३४ वर्षीय प्रहरी हवलदार डम्बरबहादुर थारु गम्भीर घाइते भएका छन् । उनकोे गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

यता ठक्कर दिने जिप चालक पोखरा –५ का २३ वर्षीय विशाल केसी प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : भदौ ३, २०७७

प्रतिक्रिया दिनुहोस्