प्रेस काउन्सिलको स्वायत्तता कायम रहन दिन युनियनको सरकारसँग आग्रह



काठमाडौं– प्रेस युनियन नेपालले प्रेस काउन्सिल ऐनविपरीत स्वीकृत गरिएको नियमावलीको उप्रावधान तत्काल फिर्ता गरी प्रेस काउन्सिलको स्वायत्तता कायम रहन दिन युनियन सरकारसँग आग्रह गरेको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस विज्ञप्ती जारी गर्दै प्रेस काउन्सिल नेपालका सम्बन्धमा गरिएको निर्णय हो, जुन निर्णयले काउन्सिलको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको बताएका हुन् ।

विज्ञप्तीमा भनिएको छ– ‘प्रेस काउन्सिल ऐन २०४८ अनुसार प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने अधिकार काउन्सिल स्वयंलाई छ । तर सरकार आफैले यससँग बाझिने गरी कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्थासहित प्रेस काउन्सिल कार्यव्यवस्था नियमावली संशोधन गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘सरकार लोकतन्त्रमा मिडियाको भूमिका निस्तेज पार्न र मिडिया नियन्त्रणमुखी कानून बनाउन उद्धत देखिएकाले हामी यसको विरोध गर्दै यसविरुद्ध उभिन सरोकारवाला सबैलाई हार्दिक आह्वान समेत गर्दछौ । साथै सरकारलाई उक्त निर्णय तत्काल सच्याएर काउन्सिललाई राजनैतिक आग्रह मुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रुपमा परिस्कृत र विकसित गर्न समेत माग गर्दछौ । साथै काउन्सिल प्रकरण सम्बन्धमा सर्वाेच्च अदालतले गरेको अन्तरिम आदेशको सम्मान गर्दछौं’– विज्ञप्तीमा थप भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्