अमेरिकामा भेदभाव : धनीका क्लब छिर्न धनी कुलमै जन्मनुपर्ने !



एजेन्सी : अमेरिकाका सर्वाधिक धनी १ प्रतिशतसँग मात्र देशको ४० प्रतिशत सम्पत्ति रहेको छ । यस्तोमा सो १ प्रतिशत क्लबमा आफ्नो स्थान बनाउने सबैभन्दा सजिलो उपायबारे एक नयाँ अनुसन्धानले अनौठो तथ्य पत्ता लगाएको छ। 

अध्ययनका क्रममा अमेरिकीहरु आफ्नो भविष्यबारे एकदमै सकारात्मक रहने गरेको पाइएको छ। जस्तै करिब ७५ प्रतिशत अमेरिकीले मेहनत र लगनशीलता नै सफलताका लागि सबैभन्दा महत्वपूर्ण रहेको विश्वास गर्छन्। त्यस्तै ६३ प्रतिशतले चाहिँ समृद्धिका लागि राम्रो शिक्षा आवश्यक रहेको बताएका छन् भने केबल २० प्रतिशतमा मात्र धनी परिवारले नै आर्थिक सफलता दिलाउने मान्यता रहेको पाइएको हो। तर यस अनुसन्धानले भने सबैको सोचाइ भन्दा विपरित निष्कर्ष निकालेको छ। 

वास्तवमा सामाजिक गतिशीलताको हिसाबले अमेरिकाको प्रदर्शन ज्यादै खराब मानिन्छ भने विकसित राष्ट्रहरुको तुलनामा त्यहाँ आय असमानता दर पनि अधिक रहेको छ। यस्तोमा अमेरिकामा धेरै पैसा कमाउन आर्थिक उद्योगहरु नै सबैभन्दा उपयुक्त क्षेत्र मानिन्छन्।

तर यस क्षेत्रका रोजगारदाताहरुले ‘आईभीवाई लिग’ बाट उत्तीर्ण उमेदवारलाई मात्र प्राथमिकता दिने गरेको पाइन्छ। आईभीवाई लिगले उत्तरपूर्वी अमेरिकाका आठ उत्कृष्ट युनिभर्सिटीको समूहलाई जनाउँछ (ब्राउन, कोलम्बिया, कमवेल, डार्टमाउथ, हार्भर्ड, पेनिसिल्भेनिया, प्रिन्सटन र येल युनिभर्सिटी । ) 

त्यसैले हार्भर्ड, येललगायतका युनिभर्सिटीका विद्यार्थीहरुले नै यी क्षेत्रमा स्थान पाउने बढी सम्भावना रहेको छ। 

तर यता आईभी लिग युनिभर्सिटीहरुले धनी पृष्ठभूमिबाट आउने विद्यार्थी धेरै छनोट गरिरहेका हुन्छन्। जस्तै १९९९ देखि २००४ मा प्रिन्सेन्टनका केबल दुई प्रतिशत विद्यार्थी मात्र सबैभन्दा कम आयदर भएको २० प्रतिशत परिवारबाट आएका थिए। 

तर ३.२ प्रतिशत विद्यार्थी भने अमेरिकाको उच्च ०.१ प्रतिशत परिवारमा पर्ने पाइएको थियो । यसले नै धनी बन्ने सबैभन्दा सजिलो तरिका स्पष्ट पार्ने द इकोनोमिस्टले उल्लेख गरेको छ । अर्थात् सम्पत्तियुक्त परिवारमा जन्मिनुले नै अत्यधिक धनी हुने टिकट दिलाउँछ ।

यसपछि धनीहरुको क्लबमा समावेश हुने अर्को सहज उपाय भनेको धेरै सम्पत्ति भएको पति वा पत्नी चुन्नु हो । योबाहेक शीर्ष युनिभर्सिटीमा भर्ना भइ पढाइ पूरा गर्नुले पनि जीवन स्तरमा सुधार ल्याउन सक्ने बताइएको छ । यसरी १ प्रतिशतको अत्यधिक धनी क्लबमा प्रवेश पाउन तल्लो र मध्यम वर्गीय परिवारका सदस्यले धेरै कठिन सुरुवात गर्नुपर्ने हुन्छ ।   

 

प्रतिक्रिया दिनुहोस्