म्याग्दीमा योग्य पुरोहित नपाइँदा पूजापाठ प्रभावित



म्याग्दी : जिल्लामा योग्य पुरोहित अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन्।

ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन्। संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसंग मेल नखाने सोचाइका साथ ब्राह्मणहरुले पनि संस्कृत पढ्न छोडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणहरुको अभाव हुन थालेको स्थानीयले बताएका छन्। 

वेद, उपनिषद्, पुराण, रुद्रीलगायत ग्रन्थलाई आधार मानेर गरिने कर्मकाण्ड जन्मेदेखि मृत्युपर्यन्त आवश्यक भए पनि पुरोहित अभावमा समस्या उत्पन्न हुन थालेको बेनी नगरपालिका २ का भीमबहादुर रिजालले बताए।

‘हिजोआज संस्कृत पढ्ने चलन नै हराउन थालिसक्यो’, रिजालले भने, ‘संस्कृतको ज्ञान नभएका व्यक्तिहरुले कर्मकाण्ड गराउन नसक्ने हुँदा न्वारान, विवाह र मृत्युसंस्कार जस्ता नगरी नहुने कर्महरु गर्न पनि समस्या हुन थालेको छ।’ संस्कृत शिक्षा हिन्दूहरुको जीवन पद्धतिसँग जोडिएको शिक्षा भएता पनि हिजोआज संस्कृतप्रति सबैको मोह घट्दै गएको पाइएको छ।

गाउँघरतिर संस्कृत नपढेका, बेरोजगार भएर बसेका, नैतिक रुपमा स्खलित भएका र अन्य कुनै उपाय नभएपछि कर्मकाण्डमा लागेका बाहुनहरुले आफूखुसी ‘धुपं समर्पयामी, नैवेद्यं चढायामी’ भनेर पूजा गराउने गरेको र संकल्पमा सम्वतसर, नक्षत्र, तिथिसमेत गलत उच्चारण गर्ने गरेका आफूले पाएको पण्डित भीमनाथ पराजुलीले बताए। ‘शुद्धसँग बेदका ऋचा उच्चारण गर्न नसक्ने र आफ्नो आचारणमा नरहेका ब्राह्मणहरुले पनि अरु कुनै पेसा गर्न नसकेर कर्मकाण्डमा लाग्दा ब्राह्मणहरुको समेत बदनाम भएको छ’, उनले भने।

‘अहिले संस्कृत पढेर सुनिश्चित भविष्य नहुने र कर्मकाण्ड व्यावसायिक पेसा अझै हुन नसकेकाले संस्कृतप्रति मानिसहरुको उदासीनता बढेको हुन सक्ने म्याग्दी बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्रध्यापक नारायण सुवेदीले बताए।

कर्मकाण्ड गर्ने बूढापाका ब्राह्मणहरुको शेषपछि पुरोहितहरुको अभाव सुरु हुन थालेको हो। अहिले म्याग्दीमा पुराणवाचन गर्ने पण्डितको संख्या दुई तीन जनाभन्दा बढी नरहेको र कर्मकाण्ड गर्नेहरु पनि घट्दै गएको ब्राह्मण समाज म्याग्दीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्