गाउँपालिकामा भ्रष्टाचार भएको उपाध्यक्षको दाबी, अध्यक्ष भन्छन् : आफन्तलाई ठेक्का नपर्दा यत्रो कोकोहोलो ?



वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले अध्यक्षको मिलेमतोमा गाउँपालिकामा भ्रष्टाचार भएको आरोप लगाएकी छिन् । गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी र प्रशासकीय अधिकृत सरोज चौधरी मिलेर खोलाको टेन्डरमा व्यापक अनियमितता गरेको उनको आरोप छ । 

वीरगंजमा पत्रकार सम्मेलन नै गरेर उपप्रमुख ममता महतोले अध्यक्ष र प्रशासकीय अधिकृतले नियम मिचेर भलुई खोलाको ढुङ्गा, बालुवा, गिट्टी विक्री तथा निकासी गर्न १ करोड १० लाख रुपैयाँमा नवगावा कन्स्ट्रक्सन कम्पनी सँग गोप्य सम्झौता गरेको जानकारी दिएकी हुन् । 

दुवै चौधरीले आर्थिक प्रलोभनमा परि १ करोड ३६ लाखमा ठेक्का सकार गर्न तयार कम्पनीसँग सम्झौता नगरी कम रकम कवोलेको कम्पनीसँग सम्झौता गरेको उनले बताइन् । 

४ महिनाको लागि ढुङ्गा, बालुवा, गिट्टी विक्री तथा निकासी गर्न गत माघ २७ गते गाउँपालिकाले नवगावा कम्पनीलाई अनुमति दिएको थियो । 

गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतले विकास निर्माण तथा भौतिक पूर्वाधारका काममा पनि व्यापक भ्रष्ट्रचार गरेको महतोको आरोप छ । ‘हामी प्रमाण जुटाउने काम गरिरहेका छौँ,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘केही दिनमा प्रमाणसहित भ्रष्ट्रचारीलाई सार्वजनिक गर्छौँ ।’

गोप्य रूपमा गरिएको सम्झौताबारे स्थानीय प्रशासन र जिल्ला समन्वय समितिमा लिखित जानकारी गराइएको छ । तर गाउँपालिकाका कार्यकारी अधिकृतले जिल्ला प्रशासन कार्यालयले तीन दिन अघि टेन्डरबारे लिखित जवाफ माग गर्दै गाउँपालिकामा पठाएको पत्र नै गायब बनाएको उपाध्यक्ष महतोले बताइन । 

यता गाउँपालिकाका अध्यक्ष चौधरीले भने उपाध्यक्ष महतोले आफन्त पर्ने ठेकेदारले ठेक्का नपाएको झोकमा खोलाको ढुङ्गा, बालुवा, गिट्टी विक्री तथा निकासीबारे भ्रम छर्दै हिँडेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्