निर्मला प्रकरण : डिएसपी जिसीलाई पनि धरौटीमा रिहा गर्न अदालतको आदेश



कैलाली : कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का तत्कालीन डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । सोमबार र मङ्गलबार गरी दुई दिन लगाएर जिसीको बयान लिइएको थियो ।

निर्मला पन्त हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका डिएसपी जिसी न्यायिक हिरासतमा थिए । उनी विरुद्ध प्रहरीमा जाहेरी परेपछि फरार रहँदै आएका थिए ।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार उनलाई धरौटीमा रिहाको आदेश भएको हो । उनलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दा ४ लाख रुपैयाँ धरौटी माग भएको अवस्थीले बताए ।

अदालतले फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना दिएकोमा उनी १६ औँ दिन सोमबार बिहान अदालतमा हाजिर भएका थिए । 

उनीसहित ८ जना प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तीमध्ये ६ प्रहरी सुरुमा अदालतमा उपस्थित भएका थिए । तत्कालीन एसपी दिल्लीराज विष्ट भने चैत ५ गते मात्र अदालतमा उपस्थित भएका थिए ।

विष्टलाई आइतबार प्रमाण नष्ट गरेकोमा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कुल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलासले दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्