पाँच कठ्ठा जमीनमा लगाइएको अफिम नष्ट



रौतहट : रौतहट प्रहरीले पाँच कठ्ठा जमीनमा लगाइएको लाखौं मुल्य बराबरको अफिम खेती नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले स्थानीय मौलापुर नगरपालिका ७ सगैया पिपरीया टोलस्थित मकै खेतको बीचमा लगाइएको अफिम खेती फाडेर नष्ट गरेको हो।

पछिल्लो समय जिल्लाको पश्चिमी भेगका सीमावर्ती गाउँहरूमा अफिम खेती व्यवसायिक रुपमा फस्टाउँदै गएको सुचनाका आधारमा प्रहरीले अफिम खेती नष्ट गर्ने अभियान नै संचालन गरेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए। यहाँ खेती योग्य जग्गामा अवैध रुपले उमारिएको अफिमका बिरुवाहरू प्रहरीले नष्ट गर्दा यसका कारोबारीलाई ठूलो धक्का लागेको समेत प्रहरी प्रमुख खत्रीले बताए।

चैत्र महिनासम्ममा तयार हुने अफिमलाई अन्तिम समयमा आएर प्रहरीले गरेको कारवाहीका कारण लागूऔषधका कारोबारीलाई ठूलो क्षति पुगेको छ। विगतका वर्षहरूमा झैं अफिम खेती गरिँदै आएको यस क्षेत्रमा यस वर्ष भने फाटफुट रुपमा खेती गरिएको पाइएको छ। जिल्लाका ग्रामीण भेगहरूमा किसानले लुकिछिपी अफिम खेती गर्दै आएका छन्।

मंसिर अन्तिम तिर रोपिएको अफिमको बिरुवामा फागुन र चैतसम्म दाना लागेर तयार हुन्छ। दानालाई बिरुवामा भएकै अवस्थामा ब्लेडले चिरेर चोप निकालेपछि प्रशोधन गरी लागूऔषध अफिम तयार हुने गर्दछ। बजार मुल्य अत्याधिक भएको हुनाले गैरकानूनी भएको थाहा हुँदाहुँदै पनि यो खेतीमा ग्रामीण भेगका केही किसान बढी आकर्षित भएका हुन्।

यो क्षेत्रमा बालीनालीको बीच भागमा सजिलै कसैको आखाँ पुग्न नसक्ने गरी अफिम खेती गर्नेे गरेको पाइएको छ। प्रहरी प्रमुख खत्रीले समाज र राष्ट्रलाई हानी पुर्याउने कुनै पनि गैरकानुनी कार्य हुन नदिने चेतावनी दिँदै अफिम खेती गर्ने व्यक्ति पक्राउ परेको खण्डमा कानुन बमोजिम कारवाही हुने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्