कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन् : वर्तमान सरकार काम न काजकाे भयाे



धनुषा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकार काम न काजको भएकाे आरोप लगाएका छन्। धनुषाको सहिद नगर नगरपालिकामा बुधबार भएको सभालाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारा नाममै सीमित भएको आरोप समेत लगाए।

उनले भने, ‘यो सरकार आफू सुखी र आफ्नो  पार्टी लाई मात्र समृद्ध पार्न लागि परेको छ।’ मुद्दा र नीतिमा वर्तमान सरकार र मधेशवादी दल दुवै मधेश विरोधी रहेको पौडेलले दावी गरे। कांग्रेसलाई तराई मधेशले नै जन्माएको बताउँदै पौडेलले भने,‘तराई नेपाली कांग्रेसको प्राण हो र आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ बनेर जानेछ।’

प्रधानमन्त्री ओलीलाई इंकित गर्दै पौडेलले भने, 'अहिले समृद्ध मधेश बनाउँन पानी जहाज होइन् सिचाईको आवश्यकता छ।' केपी ओलीको जालमा परेर सरकारलाई समर्थन गरेको मधेशवादी दलले संविधान संशोधनको मुद्दा बिर्सिएको पौडेलको भनाई थियो। 

जनताको भावनामा खेलवाड गर्दै मधेशवादी दल सत्ता र कुर्सीमा रुमलिएको पौडेलको तर्क थियो। मधेशलाई समृद्ध बनाउँन चुरे संरक्षण गर्नुपर्नेमा उनले जोड दिए। कम्युनिस्ट सरकार कहिले पनि संघीयताको पक्षमा नरहेको जिकिर गर्दै पौडेलले वर्तमान सरकार सबै निकायलाई आफ्नो मातहत ल्याउन उद्धत रहेको आरोप लगाए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिले केही पार्टी र नेता मिथिला र भोजपुरालाइ कमजोर पार्न लागि परेको बताए । नेता भण्डारीले ओली नेतृत्वको सरकारले मधेसवादी दललाई काखी च्यापेर जनता र देशलाई बेवास्ता गर्दै अघि बढिरहेको बताए । 

कांग्रेसको टार्गेटमा सरकार र मधेसवादी

आम सभामा बोल्ने कांग्रेस नेताहरू वर्तमान सरकार र मधेसवादी दलप्रति बढी आक्रोशित देखिए । कांग्रेस नेता महेन्द्र यादवले सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूलाई ठगको संज्ञा दिँदै मधेसको माग बिर्सिएर सरकारमा सहभागी भई मधेस र मधेसीलाई ठगेको आरोप लगाए ।

नेता यादवले वर्तमान सरकारले मधेसमा सेना परिचालन गर्न खोजेको आरोपसमेत लगाए । कार्यक्रममा नेता राम कृष्ण यादवले अव आउने निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरे । 

कार्यक्रममा बोल्ने सबै नेताले सरकारको चर्को आलोचना गरेका थिए । 

यसैबीच वरिष्ठ नेता पौडेलले स्वर्गीय रामसेवक यादवको सालिक अनावरण गरेका छन् । रामसेवक यादवलाई तत्कालीन विद्रोही माओवादीले २०५८ चैतमा वाला बाखरमा गोली हानि हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्