लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्तुत हुने



काठमाडौं : आगामी चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनका तयारी पूरा भएको छ । सम्मेलनको प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन गर्नेछन् । 

सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डललगायत ६ सय भन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने अर्थमन्त्री एवम् नेपाल लगानी सम्मेलन मूल समारोह समितिका संयोजक डा. युवराज खतिवडाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिए । 

दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम् शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गर्नेछ । त्यसैगरि सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको अर्थमन्त्री खतिवडाले बताए । 

सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुति हुने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवसहित सात वटा विषयगत सत्र पनि सम्मेलनमा सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ ।  

अन्तिम दिन शनिबार दुईवटा क्षेत्रगत र तीन वटा प्लेनरी सत्र सञ्चालन हुने बताइएको छ । २ दिनसम्म चल्ने सम्मेलनबाट मुलुकको समृद्धिका लागि आवश्यक लगानी भित्र्याउन सफल हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्