प्रदेश २ मा होम आइसोलेसनमा बस्ने बढी



जनकपुरधाम : प्रदेश २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन् । साउन मसान्तमा यो सङ्ख्या एक हजार ६३ थियो । भदौका छ दिनमा मात्रै दुई हजार १४४ जना होम आइसोलेसनमा बस्ने थपिएका हुन् ।

आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बसेको सङ्क्रमण पुष्टि भएकाहरुको भनाइ छ । ठीक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट सङ्क्रमणमुक्त हुन सकिने भएपछि यस्ता सङ्क्रमित आफ्नै घरमा बस्न थालेका हुन् । “सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि जनताका काममा लागि रहँदा सङ्क्रमित भइएछ”, अहिले होम आइसोलेसनमा बस्दै आउनुभएका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले सञ्चारकर्मीसँग भने, “बस्ने तौरतरिका, निर्वाह गर्नुपर्ने सतर्कता, सन्तुलित खानपानको तालिका र आहारव्यवहारबाटै कोरोना परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्न पनि होम आइसोलेसन प्रभावकारी हुने लाग्यो, घरका सबैले परबाट हेर्न पाइरहेका र ठिकठाक देखेपछि सबैमा यो सङ्क्रमणबाट मुक्त हुइने आत्मविश्वास जागेको महसुस गरेको छु ।”

प्रदेश २ का आठवटै जिल्लामा गरी भदौ लागेयता एक हजार ५५५ नयाँ सङ्क्रमित थपिएका छन् । यिनीहरुमध्ये धेरैजसो र यसअघिका समेत गरी अहिले होम आइसोलेसनमा बस्नेको सङ्ख्या तीन हजार २०७ पुगेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म सिरहा होम आइसोलेसनमा बसेका नदेखिएको प्रदेशको एक मात्र जिल्ला हो । यसबाहेक अहिले पर्सामा ७६६, रौतहटमा ७०४, महोत्तरीमा ६५१, धनुषा र सर्लाहीमा ३६० एवं बारामा २९१ जना सङ्क्रमण पुष्टि भएकाहरु होमआइसोलेसनमा बसेका मन्त्रालयको तथ्याङ्क छ ।

प्रदेश २ का सबै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । पछिल्लोपटक भदौ १ गते प्रदेशका आठवटै जिल्ला प्रशासनले निषेधाज्ञा अवधि थप्दै लगेका छन् । कडाइपूर्वकको निषेधाज्ञा अवधिभित्रै पनि कोभिड–१९ सङ्क्रमण बढ्दो देखिएको छ । भदौ महिनाका छ दिनभित्र प्रदेशभित्र एक हजार ५५५ नयाँ सङ्क्रमित थपिएका छन् । यसै अवधिमा १४ सङ्क्रमितको मृत्यु भएको छ ।

अहिले (भदौ ६ गते शनिबारसम्म) प्रदेशका आठवटै जिल्लामा गरी कूल सङ्क्रमित आठ हजार ५२० पुष्टि भएका छन् । साउन मसान्तमा यो सङ्ख्या छ हजार ९६५ थियो । त्यसैगरी भदौ लागिकन १४ सङ्क्रमितको ज्यान गएको छ । साउन मसान्तमा ४५ रहेको मृतक सङ्ख्या शनिबारसम्म बढेर ५९ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अभिलेखले देखाएको हो । यद्यपि भदौमा पुष्टि भएको सङ्क्रमण यसअघि नै प्रभावित भएकाहरुमा देखिएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरे बताउँछन् ।

प्रदेश २ मा गत साउनमा मात्रै तीन हजार ५४ मा महाव्याधिको सङ्क्रमण भएको हो । साउन मसान्तसम्म कूल छ हजार ९६५ मा सङ्क्रमण पुष्टि भएको थियो । गत साउनमै प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका ४२ जनाको मृत्यु भएको थियो । कूल सङ्क्रमित मृत्यु हालसम्मका ५९ मध्ये दुई गत जेठमा र एक असारमा मृत्यु भएका प्रदेश नं २ सरकारको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । असार मसान्तसम्ममा तीन हजार ९११ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्