एक महिनामा १६७ लैङ्गिक हिंसाका घटना



काठमाडौं : देशभर १६७ लैङ्गिक विभेदमा आधारित हिंसाका घटना भएको तथ्याङ्क अभिलेखीकरण गरिएको छ । महिला पुनः स्थापना केन्द्र (ओरेक) नेपालले विभिन्न सञ्चारमाध्यमबाट प्राप्त तथ्याङ्कका आधारमा सो अभिलेख गरी बुधबार फागुनको मासिक प्रतिवेदन सार्वजनिक गरेको हो । 

प्राप्त तथ्याङ्कअनुसार ६९ घरेलु हिंसाका घटना रहेका छन् भने घरेलु हिंसा गर्नेमा ५२ जना श्रीमान् र १७ परिवारका अन्य सदस्य रहेका छन् । त्यस्तै ४२ पुरुषद्वारा यौन हिंसा भएको छ । 

यौन हिंसा गर्नेमा १६ जना छिमेकी, आठ जना महिलाले आत्मीय ठानेका पुरुष, सात कुनै पनि सम्बन्ध नभएका अञ्जान पुरुष, पाँच शिक्षक, तीन साथी, दुई श्रीमान् र एक परिवारका सदस्य रहेको ओरेकले जनाएको छ । 

त्यस्तै गरी १५ महिलामाथि बोक्सीको आरोपमा कुटपिट, मानसिक यातना, १५ बालविवाह, नौको हत्या भएको, एकको हत्या प्रयास, परिवारको स्रोतअनुसार लैङ्गिक विभेदका कारण आठ जनाले आत्महत्या गरेको जनाइएको छ ।

त्यस्तै तीन जना महिला बेचबिखनमा परेको, दुई जनामा अनलाइनमार्फत हिंसा भएको, दुई अलपत्र फेला परेको र एक बेपत्ता भएको तथ्याङ्क प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्