पुलिसलाई हराउँदै आयोजक मकवानपुर फाइनलमा



मकवानपुर : आयोजक मकवानपुर–११ हेटौंडामा जारी दोस्रो मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई १–० को झिानो अन्तरले पराजित गर्दै मकवानपुर उपाधि नजिक पुगेको हो।

मकवानपुरलाई फाइनलमा पुर्याउन एकमात्र निर्णायक गोल खेलको ७८ औं मिनेटमा रेजिन सुब्बाले गरेका थिए। दानु थापाको पासलाई सदुपयोग गर्दै सुब्बाले गोल गरेका हुन्। मकवानपुरले अब उपाधिका लागि बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलको विजेता टोली थ्री स्टार र दाउफिन्स एफसीको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा मकवानपुरका गोलकर्ता सुब्बा ‘म्यान अफ दि म्याच’ हुँदै नगद १० हजार प्राप्त गरे। 

चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा घरेलु टोली मकवानपुर ११, विदेशी क्लब दाफिन्स एफसीसहित ‘ए’ डिभिजनका आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैंया, मेडल र प्रमाणपत्र पाउने छन्।

प्रतिक्रिया दिनुहोस्