हरिचौरमा विद्युत सव–स्टेशन निर्माण



गलकोट :सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युतको केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जिल्लाको गलकोट हरिचौरमा सव–स्टेशन निर्माण गरेको छ ।

जिल्लामा धमाधम केन्द्रीय प्रशारण लाइनको पहुँच पुर्याउनका लागि सव–स्टेशन निर्माण भएको प्राधिकरणको बागलुङ वितरण केन्द्रले जनाएको छ । २०७२ सालमा शुरु भएको तीन एमभीए क्षमताको सव स्टेशन निर्माण कार्य हालै मात्रै सम्पन्न भएको वितरण केन्द्रका प्रमुख इञ्जिनियर शिव नारायण गोशलीले जानकारी दिए । “बागलुङ हालसम्म जम्मा ५५ प्रतिशत मात्रै केन्द्रीय विद्युतको पहुँच पुगेको छ” उनले भने, “आगामी एक वर्षमा ९० प्रतिशत बढी विद्युतीकरण गर्ने योजनाका साथ काम गरिरहेका छौ, जसमा जिल्लाको पश्चिम क्षेत्र मुख्य केन्दीत गरेका छौ, यसका लागि सव स्टेशन निर्माणले सहजता प्रदान गर्नेछ । ” गलकोट हरिचौरमा निर्माण गरिएको सव स्टेशन बागलुङ बजार पछिको दोस्रो हो । जिल्लाको सबै गाउँमा विद्युतिकरण गर्न थप दुई सव स्टेशन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडी बढाइएको उनको भनाइ छ ।

प्राधिकरणले जग्गा खरिद गरेर राखेको लामो समय पछि मात्रै सव स्टेशन निर्माण गरिएको हो । चार करोड रुपैयाँको लागतमा निर्माण भएको सव स्टेशन निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न भएको हो । गलकोट नगरपालिका–५ हरिचौरमा रहेको उक्त सव स्टेशन निर्माण पछि गलकोट, ताराखोला, बडिगाड तथा बुर्तिबाङमा विद्युत विस्तार कार्य भइरहेको छ । असार मसान्तमा सकिएको सव स्टेशन निर्माण यही भदौ १ गतेदेखि चार्ज गर्न थालिएको हो । रामरेखा सव स्टेशनबाटै विद्युत बाल्दै आएका गलकोटबासीलाई हरिचौरमा सव स्टेशन निर्माण पछि सहज भएको छ । “गलकोटमा केही समस्या आउँदा जिल्ला सदरमुकाम स्थित रामरेखा सव स्टेशनमा विद्युत बन्द गर्नुपर्ने समस्या थियो” प्रमुख गोशलीले भने, “गलकोट र गलकोटदेखि अगाडि केही समस्या भएमा अब हरिचौर सव स्टेशनमै बन्द हुन्छ ।”

विद्युत प्राधिकरणले हाल गलकोटको अन्तिम विन्दु रिघा सम्म केन्द्रीय विद्युतको उज्यालो पुगेको छ भने बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ सम्म विद्युतको प्रशारण लाइन तान्ने कार्य सम्पन्न भएको छ । यही भदौ महिना भित्रै बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङमा केन्द्रीय विद्युतको पुहँच पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्