स्वाइन फ्लुले चार महिनामा १८ जनाको मृत्यु



काठमाडौंः नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

महाशाखा प्रमुख डा. विवेककुमार लालका अनुसार एच.एन. भाइरसका कारण काठमाडौंमा १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ । यस्तै एकजनाको ठेगाना खुलेको छैन । मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको उनले बताए । पहिलोपटक सन् २००९ मा मेक्सिकोमा सुंगुर फार्ममा देखिएको स्वाइन फ्लु अहिलेसम्म संसारका २०० भन्दा बढी देशमा फैलिसकेको छ ।

परीक्षणका क्रममा सुंगुरमा पाइने जिनजस्तो भाइरस मानिसमा पनि पत्ता लागेपछि यसलाई चिकित्सकले स्वाइन फ्लु भन्न थालेका हुन् । तर, नेपालमा सर्वसाधारण आतंकित हुने डरले एच१एन१ लाई सरकारी निकायले मौसमी रुघाखोकी भन्ने गरेका छन् ।, नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्