ऊर्जामा लगानी भित्र्याउने भन्दै गाउँपालिका प्रमुखकाे चीन भ्रमण



जुम्ला : तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने सोमबार चीन भ्रमणमा गएका छन् । प्रमुख र उपप्रमुखसहितको टोली एक साताका लागि चीन सरकारको निमन्त्रणा भ्रमणमा निस्केका हुन् ।

 

स्थानीय तहको विकास, समृद्धि र ऊर्जा क्षेत्रको सम्भाव्यता अध्ययन अवलोकनका लागि टोली चीन गएका हुन् ।

 

भ्रमणमा उनीहरुले चीनको सिचुवान प्रान्तका विभिन्न स्थानको अवलोकन गर्ने भएका छन् । भ्रमणका सदस्य न्यौपानेले गाउँपालिकाको विकासका लागि चिनियाँ विकास मोडल र लगानी भित्र्याउन भ्रमणमा गएको बताए ।

 

‘गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन त्यहाँको वस्तुस्थिति बुझ्न जान लागेको हुँ,’ उनले भने, ‘उज्यालो गाउँपालिका बनाउने मेरो लक्ष्य रहेको छ । एक मेगावाट वायु ऊर्जा उत्पादनको लक्ष्य अनुरुप आवश्यक लगानी भित्र्याउने भ्रमणको मुख्य उद्देश्य हो ।’

 

न्यौपानेका अनुसार ऊर्जामा गाउँपालिकालाई आत्मनिर्भर बनाएर बाँकी विद्युत बेचेर आन्तरिक स्रोत बढाउने रहेको छ । अहिले गाउँपालिकाको डाँगीबाडामा दुई करोड लगानीमा वायु ऊर्जा सञ्चालनमा आएको छ । १४ हजार जनसंख्या रहेको गाउँपालिकामा अधिकांश बस्तीमा विद्युत पुग्न सकेको छैन ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले चिनियाँ लगानी भित्र्याउन गाउँपालिकाको निर्णय रहेको बताए । यसअघि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले पनि चीनकै सिचुवान प्रान्तको भ्रमण गरेका थिए ।

 

गाउँपालिकाका अध्यक्ष चीन भ्रमण गएको जानकारीसँगै गाउँमा खुसी छाएको छ । स्थानीय डम्बर कामीले चिनियाँ लगानी भित्रिने विश्वास व्यक्त गर्दै लगानी भित्रिए विदेश जाने घट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्