रञ्जु दर्शनामाथि मन्त्री मगरको ‘सामन्ती शैली’



काठमाडौं : खानेपानी मन्त्री बिना मगर र विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शनाबीच जुहारी चलेको छ। मेलम्ची खानेपानी आयोजनामा भइरहेको अनियमितता र ढिलासुस्तीलाई लिएर उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। 

आयोजनामा भइरहेको अनियमितता र ढिलासुस्तीको कारक मन्त्री बिना मगर पनि रहेको भन्दै नेत्री दर्शना छानबिनका लागि मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिन पुगिन्। 

त्यसको भोलिपल्ट बुधबार मन्त्री मगरले विज्ञप्ति जारी गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दर्शनामाथि खनिइन्। मन्त्री मगरद्वारा जारी दुई पृष्ठ लामो विज्ञप्तिमा भनिएको छ– ‘मेलम्ची आयोजनामा अनियमिता भएको प्रमाणित भए म जुनसुकै सजाय भाग्न तयार छु। अनियमिता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई ‘रञ्जु दर्शना’ तयार हुनुहुन्छ? म प्रश्न गर्न चाहन्छु।’ 

मन्त्री मगरले दर्शनाले स्वार्थपूर्तिका लागि आफ्नो चरित्र हत्या गर्न लागेको भनी गम्भीर आरोप लगाइन्। अख्तियारमा दिइएको उजुरीले आफ्नो चरित्रहत्या भएको समेत उनले दाबी गरिन्। 

‘यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो,’ उनले भनेकी छन्। 

आफू कठोर संघर्षबाट आएको भन्दै उनले आफ्नो निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहास पनि हेक्का राख्न सचेत गराएकी छन्। रञ्जु दर्शनातर्फ इंगित गर्दै मन्त्रीले भनेकी छन्, ‘म न कुनै राजनीतिक तिकडमका आधारमा यहाँसम्म आएको हुँ, न कुनै सस्तो लोकप्रियताको बलमा।

मेरो राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र संघर्षको इतिहासप्रति पनि हेक्का राख्नुपर्छ भन्ने मेरो दाबी छ।’ मेलम्ची प्रकरणमा आफूमात्रै नभएर आफ्नो परिवारमाथिसमेत आक्रमणको प्रयास भइरहेको भन्दै मन्त्री मगरले प्रचण्डतर्फ पनि संकेत गरिन्।

उनले विज्ञप्तिमा भनेकी छन्– ‘मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ।’

दर्शनाको उजुरीको यस्तो ठहर

विवेकशील नेपाली दलकी नेत्री दर्शनाले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकी थिइन्। गत मंगलबार नेत्री दर्शना नेतृत्वको टोलीले सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको थियो।

आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको भन्दै विवेकशीलले सबैमाथि छानबिनको मागसहित उजुरी दिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयको जिम्मा खानेपानी मन्त्री बिना मगरले लिएकी छन्। मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन्। यसै विषयमा संसद्को अर्थ समिति र संसदमा पनि उनीमाथि प्रश्न उठाइएको थियो। 

 

प्रतिक्रिया दिनुहोस्