रातिराति बढारकुँढार



आजकाे कान्तिपुर दैनिककाे सम्पादकीयमा नेपालमा भर्खरै ल्याइएकाे ब्रुमरकाे बारेमा लेखिएकाे छ। सम्पादकीय यस्ताे छ –

वर्षा लागे हिलो, हिउँद लागे धूलो । काठमाडौं उपत्यकाको दुर्दशा वातावरणीय प्रदूषण । लथालिंग सहर, भताभुंग सडक । धूलैधूलोको कुइरीमण्डलभित्र हराइरहेका आमनागरिक । उकुस–मुकुस निसासिँदो वातावरण । धूलोको यस्तो भूमरीबाट निस्कने कसरी ? काठमाडौं महानगरले उपाय सोचेकै ब्रुमर ।  

महानगरले मंगलबारदेखि ब्रुमर (यान्त्रिक कुचो) ले सडकका धूलो सफा गर्न थालेको छ । सडक सफा गर्न इटालीबाट ५ वटा ब्रुमर खरिद गरेको महानगरले राति–राति सडकमा बढारकुँढार गर्ने वाचा गरेको छ । युरो–४ मापदण्डका ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट छ ।

ब्रुमरका अगाडि एक, पछाडि दायाँ–बायाँ दुई र बीचमा एकसहित चारवटा ब्रस (कुचो) छन् । डिजेलबाट चल्ने ब्रुमरले ५ सय लिटर पानी र ४.६८ घनमिटर धूलो भण्डारण गर्न सक्छ । यसले प्रतिघण्टा २५ वर्गमिटर सफाइ गर्न सक्छ । बढार्नुअघि पानी छम्केर ब्रुमरले वातावरणलाई कुइरीमण्डल हुनबाट बचाउँदै धूलो टिप्छ । यसले धूलो टिप्ने र पानी छर्कने दुवै काम गर्न सक्छ ।

प्रतिब्रुमर २ करोड १५ लाख १७ हजार ३६ रुपैयाँका दरले खरिद गरिएका यी यान्त्रिक कुचो महानगर र सडक विभाग गरी सात वटा पुगेका छन् । महानगर र सडक विभागले समन्वय र सहकार्य गर्ने हो भने राजधानीलाई सफा, सुन्दर र बस्नलायक बनाउन सक्छन् । धेरै र थोरै मात्र हो, काठमाडौंका सबै सडक धुलाम्मे छन् । निजी र सार्वजनिक दुवै क्षेत्रमा निर्माण कार्य गर्दा होस् या निर्माण सामग्री व्यवस्था गर्दा धूलो बढिरहेको छ । धूलो, धूवाँ र वायु प्रदूषणबाट उपत्यकालाई कसरी मुक्त राख्ने ? चुनौती सबैका सामुन्ने छ । महानगरपालिकाले ब्रुमरले बढार्छु, काठमाडौं सफा राख्छु भनेको छ ।

पहिलेकाले पनि यसै भनेका थिए, ब्रुमर पनि ल्याएका थिए । ब्रुमर भ्याकुम क्लिनर जस्तो मात्रै हो । यसले दिनहुँ सडकमा थुप्रिने धूलोको रास बढारेर के साध्य ? यो अल्पकालीन सफाइ योजना मात्रै हो । दीर्घकालीन समाधान खोजिएको छैन । पहिले धूलो, धूवाँ र वायु प्रदूषणको कारक पहिचान गर्नुपर्छ । तिनका स्रोत के–के हुन् ? राम्ररी अध्ययन गरिसकेपछि योजना बनाउनुपर्छ । 

काठमाडौंमा धूलो केले बढाइरहेको छ ? राम्ररी सडक पिच नगर्दा धूलो बढेको छ । ठाउँ–ठाउँमा खन्ने र त्यतिकै छाडिदिनाले वातावरण धुलाम्मे बनेको छ । सडकको दुवैतिर पिच नगरी छाडिदिएको हुन्छ । चालकले हतार गरेर त्यहाँबाट गाडी गुडाउँदा धूलो उड्छ । पानी पर्दा हिलाम्मे हुने र सुक्नासाथ धुलाम्मे हुने समस्या छ । यो व्यवस्थापनको कमजोरी हो । वायु प्रदूषण, धूलो, धूवाँ नियन्त्रणको एकीकृत योजना बनाएर त्यसलाई कार्यान्वयनमा ल्याउनु आवश्यक छ ।

सडक बिग्रनु/बिगार्नु धूलोको प्रमुख स्रोत हो । जनचेतनाको अभाव छ । घर सफा गर्‍यो, लगेर दैलोअघिको सडकमा फालिदियो । घर बढारकुँढार गरेर आएको धूलो कसरी व्यवस्थापन गर्ने भनी आमनागरिक सचेत नभएसम्म वातावरण सफा राख्न सकिँदैन । मेलम्ची खानेपानी परियोजनाले चरणबद्ध रूपमा १२ सय ७७ किलोमिटर सडक खनेर पाइप बिछ्याउनुपर्नेछ । त्यसमध्ये पहिलो चरणमा खन्नुपर्ने करिब ५ सय सडकमा आधाजति मात्र खनेको छ । आधा खन्नै बाँकी छ ।

खन्नासाथ पिच गर्नुपर्छ भन्ने सम्झौतामा उल्लेख गर्नु एउटा कुरा, व्यवहार अर्कै कुरा । खासमा सहरको कुनै पनि ठाउँमा माटो देखिनु हुन्न । हरियाली या ढलान हुनुपर्छ । व्यवस्थित ढल नहुँदा वर्षायाममा बेहाल भइरहेको छ । उपत्यकालाई धूलो र धूवाँबाट मुक्त राख्न धेरै निकायबीच समन्वयको खाँचो छ । फोहोर सिर्जना गर्ने र सफा गर्ने दुवै निकायबीच समन्वय चाहिएको छ । ब्रुमर त कुचो न हो । रातिराति कुचो चलाएर पुग्ला र ? दिनको उज्यालोमा सबैको घैंटामा घाम लाग्नु पो मुख्य कुरा ।

प्रतिक्रिया दिनुहोस्