खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय पुनःस्थापना



म्याग्दी : म्याग्दीको बेनीमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारमातहतको स्वास्थ्य कार्यालय उद्घाटन गरेकी छन्।

संघीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो। 

कार्यालयलाई यस वर्ष प्रदेश सरकारमार्फत १ करोड ८४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ।

मन्त्री पुनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील रहेकाले जनतालाई सरल र सहज सेवा प्रवाहका लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताइन्।

कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको दरबन्दी छ। प्रदेश सरकारमातहतका जिल्लाका स्वास्थ्य संस्थामा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास, तालीम सञ्चालन, औषधि आपूर्तिसँगै अन्तरपालिका समन्वय गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले जानकारी दिए।

गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल र बेनी अस्पतालका निमित्त प्रमुख डा.मनोज घिमिरेले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य सेवामा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्