पहिलाे बच्चा जन्माएकाे २६ दिनपछि जुम्ल्याहा सन्तान



एजेन्सी : बंगलादेशमा २० वर्षकी एक महिलाले पहिलो सन्तान जन्माएको २६ दिनपछि जम्ल्याहा बच्चा जन्माएकी छन् । पहिलो बच्चा जन्मिएका बेला डाक्टरलाई उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा पाएका थिएनन् ।

आरिफा सुल्ताना इती नाम गरेकी युवतीले शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चा जन्माएकी हुन्। २६ दिनअघि उनले सामान्य रुपमा एक सन्तान जन्माएकी थिइन् । अहिले तीन सन्तान र आमाको अवस्था सामान्य रहेको डाक्टरले बताएका छन् ।

आरिफा सुल्तानाको उपचारमा संलग्न डा. शीला पोद्दाले समाचार संस्था एएफपीसँग भनेकी छन्, ‘हामीलाई पहिलो डेलिवरीपछि उनको गर्भमा अरु दुई बच्चा रहेको थाहा थिएन । २६ दिनपछि पेटमा समस्या भएको भन्दै उनी अस्पताल आइन् अनि मात्रै उनको गर्भमा दुई बच्चा अझै रहेको थाहा भयो ।’

पहिलो सन्तान समय भन्दा अघि नै जन्मिएको डाक्टरले बताएका छन् । शारशा उपाजिलाको श्यामलागाछी गाउँकी आरिफा घरबाट नजिक पर्ने खुल्ना मेडिकल कलेजमा गएका हुन् । उनले गएको फेब्रुअरी २५ मा पहिलो सन्तान जन्माएकी थिइन् । उनले त्यो बेला छोरा जन्माइन् । डाक्टरले उनको पेटमा रहेको दोस्रो पाठेघर र त्यसमा रहेका दुई बच्चाको ख्यालै गरेनन् ।

आरिफा मार्च २२ फेरि अस्पताल गइन् । त्यसपछि उनको शल्यक्रिया भयो, उनले एक छोरा र एक छोरी जन्माइन् । उनका अहिले दुई छोरा र एक छोरी छन् । पहिलो सन्तान एउटा पाठेघर र जुम्ल्याहा छोराछोरी अर्को पाठेघरमा थिए । आरिफा र उनका सन्तानको स्वास्थ्य राम्रो रहेकाले मंगलबार डिस्चार्ज भएका छन् ।

आरिफाका पति सुमोन विश्वासले अल्लाहको कृपाले तीन सन्तान र आमा स्वस्थ रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्