प्रहरीद्वारा ५ क्विन्टल गाँजा नष्ट



म्याग्दी : प्रहरीले म्याग्दीमा जथाभावी फैलिएको गाँजा नष्ट गर्ने अभियान थालेको छ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पिपलबोटमा करिब ४ रोपनी जग्गामा उम्रिएको ६ क्विन्टल गाँजा फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी महेन्द्रप्रसाद मरासनीले बताए। 

प्रतिबन्धित लागुऔषधको सूचीमा राखेको गाँजा वैधानिक बनाउनुपर्ने बहस सुरु भइरहेका बेला जिल्ला प्रहरी कार्यालय म्याग्दीले स्थानीय जनप्रतिनिधिसहित खेतबारीमा फैलिएको गाँजा नष्ट गरेको हो।

खेतबारीमा फैलिएको वा खेती गरिएका स्थानमै पुगेर प्रहरी, वडाका जनप्रतिनिधि, आमा समूहसहितका संघसंस्थाका प्रतिनिधिले दुव्र्यसनमुक्त समाज बनाउने अभियानलाई समेत सहयोग पुग्ने भन्दै गाँजा नष्ट गरेका हुन्। 

‘स्थानीयसँगको साझेदारीमा समाजलाई सकारात्मक  सन्देश फैलिने अभियानसहित घरदैलोमै पुगेर कार्यक्रम गरिएको छ। समुदायको सहयोगले अभियानलाई सहज भएको छ’, मरासनीले भने । 

उनका अनुसार जिल्लामा फैलिएको गाँजा आर्थिक आम्दानी तथा युवा पुस्ता कूलतमा फस्दै गएकाले पनि गाँजा नष्ट गर्ने अभियानमा सक्रिय हुन अनुरोध गरेका छन्। केहीदिन अगाडि नै अर्मनको करसिम्ला, खारपानी, छिस्वाङ, तातोपानीलगायत स्थानमा  ५ क्विन्टल गाँजा नष्ट गरिएको थियो। 

स्कुले बालबालिकासमेत कुलतमा फस्न थालेपछि प्रहरीले सहरदेखि गाउँसम्म गाँजासहित लागुपर्दाथ नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गदैं आइरहेको छ। गाँजा संकलन गरेर बिक्री गर्ने र गाँजा भएकै स्थानमा पुगेर समेत सेवन गर्ने गरेको समेत पाइएको छ। 

प्रतिक्रिया दिनुहोस्