प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका यादव पक्राउ



विराटनगर : भारतबाटै नेपालमा हतियार र लागूऔषधको सञ्जाल विस्तार गर्ने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका भारतको अररिया जिल्ला इन्द्रनगर ग्राम पञ्चायत–१० टिकुलिया बस्तीका ३९ वर्षीय बग्गा भनिने प्रदीप यादव रहेका छन् । उनलाई विराटनगर महानगरपालिका–१६ दरैयाबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

गिरोहमा आबद्ध रहेकाले सीमा क्षेत्रअन्तर्गत भारतीय भूमिमा बसेर नेपालको प्रदेश १ र २ का साथै काठमाडौं उपत्यकासम्म सञ्जाल विस्तार गरेर साना हतियार एवं लागूऔषध ओसारपसार गरिरहेको अनुसन्धानबाट खुल्लेको प्रहरीले जनाएको छ । साथै नेपालमा आपराधिक गतिविधिमा संलग्न रहेका व्यक्तिसँग उक्त गिरोहको सोझो सम्पर्क रहेको समेत प्रहरीले पत्ता लगाएको छ ।
यादव हातहतियार र लागूऔषध मुद्दामा मोरङ प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका व्यक्ति हुन् । उनी यही मुद्दामा फरार प्रतिवादीको सूचीमा थिए ।

शनिबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको यादवको साथबाट लागूऔषध डाइलेक्स डीसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की समेत बरामद गरेका प्रवक्ता राईले बताए ।

प्रकाशित : भदौ ८, २०७७

प्रतिक्रिया दिनुहोस्