अमेरिकाले फेरि चन्द्रमामा मानव उतार्ने तयारी थाल्याे



वासिङटनः पाँच दसकको अवधिपछि अमेरिकाले पुनः चन्द्रमामा दोस्रो पटक मानव उतार्ने मिसनको तयारी गरेको छ। अमेरिकाले आगामी ५ वर्षपछि यो अभियान पूरा गर्ने इच्छा व्यक्त गरेको छ ।

अलाबामामा नेशनल स्पेस काउन्शीलको बैठकमा उपराष्ट्रपति माइक पेन्सले भनेका छन्,“गत सताब्दीको सातौ तथा आठौ दशक जस्तै हामी पुनः अन्तरिक्ष होडमा होमिएका छौ । उक्त समयमा हाम्रा सामु सोभियत संघ थियो र अहिले चीन देखा परेको छ । यसै कारणले २०२४ सम्म चन्द्रमामा पुग्नु आवश्यक छ ।”

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अधिकारीले यो चुनौतीलाई स्वीकार पनि गरेका छन्। नासाका जीम ब्राइडेस्टाइनले भनेका छन्,“हामी चुनौती स्वीकार गर्छौ । अब काममा जुट्ने समय आएको छ ।”हाल नासा आफ्ना अन्तरिक्षा यात्रीलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आइएसएस) मा पठाउने विषयमा संघर्ष गरिरहेको छ।

२०११ मा अमेरिकाको स्पेस सटल कार्यक्रम समाप्त भएको थियो । उक्त समयपछि एजेन्सी अन्तरिक्ष यात्रीलाई आईएसएसमा पठाउनका लागि रुसको सोयूज यानमाथि निर्भर हुदै आएको छ । १९७२ पछि नासाले चन्द्रमामा कुनै मानव मिसन पठाएको छैन । एजेन्सी २०२४ मा चन्द्रमाको कक्षमा गेटवे स्टेसन स्थापित गर्न र २०२८ मा मानव मिसन लन्च गर्ने तयारीमा रहेको थियो । तर पेन्सको घोषणापछि एजेन्सीका सामु कठिन अवस्था सिर्जना भएको छ ।

पेन्सले भनेका छन्,“हामीलाई चन्द्रमामा आफ्नो उपस्थिति स्थापित गर्नु छ । यसको लगत्तै मंगल ग्रहमा मानव मिसन पठाउनु छ । यो मिसनमा असफल हुने विकल्प छैन ।” सोयुज यानमाथिको आफ्नो निर्भरता अन्त्य गर्नका लागि नासाले अन्तरिक्ष यान तथा रकेट बनाउने सम्झौता स्पेस एक्स तथा बोइङ जस्ता निजी कम्पनीलाई दिएको छ । चन्द्र मिसनका लागि बोइङ स्पेस लन्च सिस्टम (एसएलएस) रकेट विकसित गरिरहेको छ ।

२०२० मा एसएलएसमाथि मानव रहित मिसन लन्च गर्ने कार्यक्रम रहेको थियो । तर नासले हालै मात्र २०२० सम्म सायद रकेट तयार पार्ने छैन । केही समय अगाडि नासले मंगल तथा चन्द्रमामा पाइला राख्ने अवसर कुनै महिलालाई हुने बताएको थियो । पेन्सले पनि यसको पुष्टि गरिदिएका छन् । उनले भनेका छन्,“म स्पष्ट गरिदिन्छु कि चन्द्रमामा ओर्लने पहिलो महिला अमेरिकी हुनेछिन् ।”

प्रतिक्रिया दिनुहोस्