रिपब्लीकन पार्टीको अधिवेशन, राष्ट्रपति ट्रम्पलाई मनोनयन गरिने



चार्लोट्टे : अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लीकन पार्टीको भेला उत्तरी क्यारोलिनको चार्लोट्टेमा सोमबार शुरु हुँदैछ । चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ ।

गत साता डेमोक्र्याटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ । बाइडेनले उपराष्ट्रपतिमा मनोनयन भएका कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ ।

कोरोना भाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लीकन पार्टीले जनाएको छ । रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन् ।

विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ । उनले यसअघि अघि सा।रेका कैयौं नीतिको कार्यान्वयन नभएको र कोरोना भाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ । यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन् ।

रिपब्लीकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लीकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताएका छन् । राष्ट्रपति ट्रम्पले पनि पार्टीभित्रबाट आफ्ना विषयमा सकारात्मक धारणा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । फक्स न्यूज च्यानललाई आइतबार दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पार्टी सम्मेलनमा प्रतिनिधिहरुले आफूलाई पर्याप्त साथ, सहयोग र समर्थन गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्