निर्मला पन्त प्रकरण : सिआइबीद्वारा शंकास्पद दुई पक्राउ



काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्त प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शंकास्पद भन्दै थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार सिआइबीको टोलीले अछामबाट उक्त घटनाको छानबिनका लागि दुई जनालाई पक्राउ गरेको हो । 

केहीदिनअघि पक्राउ गरेर बयान लिएको सिआइबीको टोलीले उनीहरूको बयान शंकास्पद लागेपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका थिए । 

यो प्रकरणमा यसअघि पनि केही व्यक्तिलाई पक्राउ गर्ने र स्थानीय तथा अधिकारवादीको दबाबमा छोड्ने काम हुँदै आएको छ । प्रहरीले भने बाह्य दबाबका कारण अनुसन्धान गर्न नसकिएको गुनासो गर्दै आएको छ । 

यता, प्रहरी अधिकारीले अनुन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलगायत अधिकृत बर्खास्त र निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्