आइसोलेसन भित्रको बेथिती बाहिर ल्याउँदा सञ्चारकर्मीलाई सेनाबाट धम्की



जनकपुरधाम : एसियाकै सर्वोत्कृष्ट आइसोलेसनको उपमा दिएर प्रदेश २ सरकारले प्रचारवाजी गरेको धनुषाको एक आइसोलेसन सेन्टर भित्र भएको बेथिति बाहिर ल्याएपछि एकजना सञ्चारकर्मीलाई ज्यान मार्ने धम्की दिइएको छ ।

धनुषाको नगराईन नगरपालिका–५ गँगुलीस्थित नेपाली सेनाले निगरानी गर्दै आइरहेको मिथिला आयुर्वेद मेडिकल कलेजको भवनमा सञ्चालित आइसोलेसन सेन्टरमा संक्रमित भई विगत ६ दिनदेखि रहेका एक सञ्चारकर्मीलाई सेनाले सफाइकर्मचारीमार्फत धम्की दिएको हो ।

आइसोलेसन भित्रको बेथिति सामाजिक सञ्जालमार्फत बाहिर ल्याएपछि सोही विषयलाई लिएर नेपाली सेनाका केहि जवानहरुले सफाइकर्मचारीमार्फत धम्की दिएको दृश्य समेत बाहिरिएको छ ।
सो आइसोलेसनको सरसफाईका लागि कार्यरत राजा मेस्तर भन्ने सफाई कर्मचारीमार्फत धम्की दिइएकोे सञ्चारकर्मी राकेश साहले जानकारी दिएका छन् । उनले भने,‘सफाई कर्मचारीले हामीलाई आइसोलेसन भित्रको कुरो बाहिर नल्याउन, बाहिर ल्याए सेनाले मार्ने धम्की दिएका छन् ।’ सफाई कर्मचारी राजा मेस्तर सोमबार सफाईका लागि पुग्दा यी कुराहरु भनेको सञ्चारकर्मी साहले बताए ।

यता संक्रमित सञ्चारकर्मीलाई धम्की दिइएको विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई प्रश्न गर्दा उनले भने,‘धम्की दिने सेनालाई स्पष्टीकरण सोध्न कर्नेल साहेबलाई भनिसकेको छु, सेना दोषी ठहरिए कारबाही हुन्छ ढुक्क हुनुस् ।’

यसअघि सफाई कर्मचारी संक्रमितहरुको तापक्रम जाँच्न पुगेको दृश्य बाहिरिएपछि सर्वत्र आलोचना भएको थियो । आलोचनापछि त्यहाँ रहेका चिकित्सकको टोली समेत परिवर्तन भईसकेको छ ।

यता कोभिड अस्पताल जनकपुरधामका संयोजक डा.जामुन प्रसाद सिंहले त्यहाँ दोषी पाइएका एक जना चिकित्सक, एक जना एसिसटेन्ट र एक जना स्वीपरलाई झिकाइएको जानकारी दिए । जबकि थर्मलगन लिएर संक्रमितलाई चेकजाँच गर्न पुगेको सफाई कर्मचारी नै सोमबार पनि सफाईकालागि पुगेको बताइएको छ ।

संक्रमित सञ्चारकर्मीका अनुसार अब चिकित्सक नै संक्रमितहरुलाई चेकजाँच गर्न पुग्छन् । तर थर्मलगनले काम गर्न छोडिसकेको छ । उनले भने,‘थर्मल गनमा व्याट्री छैन त्यसैले संक्रमितको तापक्रम मापन समेत दुई दिनदेखि भईरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्