एसइईअन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द



जनकपुरधाम : परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि एसइईअन्तर्गत प्रदेश २ मा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । प्रश्नपत्र बाहिरिएको सूचना आएपछि आकस्मिक बैठक बसेर परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले बताए ।

बैठकले प्रश्नपत्र बाहिरिएकोबारे छानबिन गर्न ४ सदस्यीय टोली गठन गरेको छ । बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानबिन टोली गठन गरिएको हो । प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए ।

सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको प्रारम्भिक अनुमान गरिएको छ । बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलेले जानकारी दिए ।

प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि जिल्ला परीक्षा समन्वय समिति सप्तरीले विज्ञान विषयको परीक्षा रद्द गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्