सहिद कप क्रिकेट : दरभंगाद्वारा कलैया पराजित 



जनकपुरधाम : जनकपुरधाममा जारी सहिद कप टी–२० क्रिकेटमा भारतको दरभंगा क्रिकेट क्लब विजयी भएको छ। जनकपुरको रंगभूमि क्रिकेट मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा कलैया क्रिकेट क्लबलाई ३ रनले हराउँदै दरभंगा विजयी भएको हो।

दरभंगाले दिएको १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको कलैयाले पूरै २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय १० रनमात्र बनाउँन सक्यो। कलैयाका लागि ‘म्यान अफ दि म्याच’ जितेन्द्रकुमार मुखियाले १७ रन बनाउनुका साथै महत्वपूर्ण ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दा १ मेडन राखेका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दरभंगाले २० ओभरमा ८ विकेट गुमाउदै १ सय १३ रन बनाएको थियो। दरभंगाका लागि बिपिन सौरभले सर्वाधिक ३५ रन बनाएका थिए। उनले २७ बलमा ६ चौंका प्रहार गरे।

त्यस्तै देवा सिंहले १० बलमा १ चौंका र १ छक्काको मद्दतमा १९, राजिव कुमारले १४ बलमा १६ र बिभुति भाष्करले ११ बलमा १५ रन बनाए। बलिङतर्फ कलैयाका दिपक बहादुर, अनिल साह र संजम रेग्मीले समान २–२ विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्