प्रदेश २ संसद्को तेस्रो अधिवेशन सुरु, प्रतिपक्षी दलले गरे सरकारको आलोचना



जनकपुरधाम : प्रदेश २ को प्रदेश सभाको तेस्रो अधिवेशन बिहीबारदेखि सुरु भएको छ । तर बैठकको पहिलो दिन नै प्रदेश सरकारको कडा आलोचना भएको छ । 

बैठकमा नेकपाका सांसद सत्यनारायण मण्डलले विकास निर्माणको कामले गति लिन नसक्नुमा प्रदेश सरकार दोषी रहेको आरोप लगाए । उनले सप्तरीमा रहेको वन्यजन्तु आरक्ष केन्द्रमा इसाई धर्मावलम्बीहरूले जग्गा कब्जा गर्न खोजेको घटनामा सरकार मौन रहनु दुःखद भएको पनि बताए । 

त्यसै गरी नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफ्नो दलले सरकारलाई सहयोग गर्दै आएपनि सरकारले विकास निर्माणदेखि प्रशासन सञ्चालनमा प्रतिपक्षी दललाई बाइपास गरेर अघि बढिरहेको आरोप लगाए । 

‘बेटी पढाऊ, बेटी बचाउ’ अभियान प्रभावकारी हुन नसकेको उनले बताए । यस कार्यक्रमका लागि प्रदेश सरकारले ८२ करोड रुपैयाँ छुट्याएपनि छोरी जन्मिएको बीस वर्षपछि मात्रै उनले यो रकम पाउने भएकाले यसले बैंकलाई मात्रै फाइदा हुने उनको धारणा छ । यो कार्यक्रमबारे सरकारले जानकारी नदिएको भन्दै तत्काल यसको कार्यविधि प्रदेश सभामा पेस गर्न उनले माग गरे । 

सरकारले जनता आवास कार्यक्रमको समितिमा सत्तारुढ दललाई मात्रै सहभागी गराएकोप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलका सांसदले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई समितिमा सहभागी गराउन माग गरे ।

प्रदेश सभाको आगामी बैठक शुक्रवार ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्