पहिलो पटक जुगल हिमाल आरोहण हुँदै



सिन्धुपाल्चोक : राजधानीबाट सबैभन्दा नजिक देखिने जुगल हिमालको पहिलो आरोहण तयारी पूरा भएको आयोजकले जनाएको छ। तीन नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र हिमाल रहेको जुगल गाउँपालिकाको संयुक्त आयोजना तथा सिन्धु पर्यटन परिषद्को समन्वयमा जुगल आरोहण गर्न लागिएको हो।

सिन्धु चेली माया गुरुङको नेतृत्वमा आरोहण दलका सदस्य शुक्रबार जुगल हिमशृंखलाको आधार शिविरतर्फ प्रस्थान गर्दैछन्। ‘प्रथम जुगल आरोहणको तयारी पूरा भएको छ,’ आरोहण दलका सदस्य रहेका परिषद्का महासचिव मिलन लामाले नागरिकसँग भने। सगरमाथाको सफल आरोहण गरिसकेकी गुरुङले अगुवाई गर्ने आरोहण दलमा लामासहित सर्मिला थापा, माधव सापकोटा र सुवास कर्माचार्य छन्।

गुरुङ प्रथम महिला समावेशी सगरमाथा आरोहण दलकी सदस्य समेत हुन्। जुगल हिमशृंखला आरोहण अनुमति प्राप्त ११ पिक (चुचुरा) मध्ये ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्चेन पिकको आरोहण गर्न लागिएको परिषद् महासचिव तथा आरोहण दल सदस्य लामाले जानकारी दिए। ‘आरोहण दलका सदस्यलाई पथप्रदर्शक र सहयोगिसमेत अरु २५ जनाले सघाउने छन्,’ उनले भने। 

आरोहण गर्न लागिएको ग्याल्चेन पिक जुगल गाउँपालिका–३, गुम्बामा पर्छ। आरोहण दलका सदस्यलाई तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुक्रबार बिहान राजधानीबाट बिदाइ गर्दै छन्। उनीहरूलाई प्रदेश सांसद सुरेश नेपालले अरनिको राजमार्गको बलेफी बजार र नेकपाका नेता अग्नि सापकोटाले गाउँपालिका मुकाम ढाँडे बजारबाट बिदाई गर्ने कार्यक्रम आयोजकले राखेको छ। 

मोटर चढेर पुग्ने दलका सदस्यले पहिलो रात गुम्बाकै क्याङसिङ गाउँमा बिताउने छन्। त्यहाँबाट पैदल हिँडेर उनीहरू दोस्रो दिनको रात बिताउन अन्तिम मानवबस्ती रहेको गोल्चेको दीपु गाउँ पुग्ने छन्। तेस्रो दिन अर्थात आइतबार आरोहण टोली राजधानीबाट १ सय ४५ किलोमिटर दुरीमा पर्ने हिमशृंखलाको आधार शिविर बुम्बाशेर्पु र नेपेमासाल पुग्ने छ।

आधार शिविरसम्म पुग्नेको संख्या भने झण्डै ७० जना हुने आयोजकले जनाए। झण्डै ४ हजार २ सय मिटरको उचाइमा रहने बुम्बाशेर्पु मुख्य आधार शिविर हो। यहाँ केही दिन बसेर मौसम अध्ययन र हिमाल पुग्ने बाटो खोजी कार्य सकेपछि आरोहण सुरु हुने पर्यटन परिषद्ले जनाएको छ।

‘प्रथम आरोहणमा बाटो खोज्नु पर्ने भएकाले आरोहण सम्पन्न गर्न १२ देखि २२ दिन लाग्ने अनुमान गरेका छौँ,’ आरोहण दलका सदस्य लामाले भने। उनका अनुसार दोस्रो पटकदेखि ग्याल्चेज पिक निकै छोटो समय १०–१२ दिनभित्र आरोहण गर्न सकिने चुचुरो हो। आरोहणमा झण्डै ५५ लाख रुपैयाँ खर्च हुने गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। 

प्रतिक्रिया दिनुहोस्