जनकपुर बमकाण्डका मुख्य योजनाकार सञ्जयकुमार साहसहित सात जनालाई जन्मकैद



जनकपुरधाम : जिल्ला अदालत धनुषाले जनकपुर बमकाण्डका मुख्य योजनाकार तत्कालीन सांसद सञ्जयकुमार साहलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश राजेश कुमार कटुवालको एकल इजलासले बिहीबार उनलाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत धनुषाका श्रेस्तेदार राधाकान्त झाले जानकारी दिए । 

घटनाका अन्य आरोपीलाई पनि जन्मकैदको फैसला भएको छ । जन्मकैदको सजाय पाउनेमा साहसहित मुकेश चौधरी, रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र दीपेन्द्र झा छन् ।

जनकपुरको रामानन्द चोकमा ७ वर्षअघि २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गरेर मिथिला राज्य सङ्घर्ष समितिले राखेको धर्ना कार्यक्रममा विस्फोट हुँदा पाँच जनाको ज्यान गएको थियो । घटनामा ४० जना घाइते भएका थिए ।

बम विस्फोटमा परी चर्चित रङ्गकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्