४० हजार कर्मचारी अपुग, छिट्टै पदपूर्ति गर्ने तयारी



काठमाडौं :  सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सम्पन्न गरेको छ । तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएका छन्।  समायोजनका क्रममा ८६ हजार ४७१ निजामती र साबिक स्थानीय निकायका १२ हजार ९७ गरी ९८ हजार ५६८ जना अब नयाँ भूमिकामा रहने छन्।

बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेलन गरी तीन तहमा कर्मचारी समायोजन सम्पन्न भएसँगै प्रशासनिक सङ्क्रमणकाल अन्त्य भएको जनाएको छ। सरकारले गत मङ्सिर २३ गते कर्मचारी समायोजन अध्यादेश जारी गरी कर्मचारी समायोजनको प्रारम्भिक प्रक्रिया सुरू गरेको थियो।

पुस ११ गतेदेखि माघ २ गतेसम्म २१ दिनको सूचना सार्वजनिक गरी अनलाइन सिस्टमबाट कर्मचारीलाई आफूले रोजेको ठाउँमा आवेदन दिन मन्त्रालयले सफ्टवेयरको निर्माण गरी कर्मचारी समायोजनको काम सुरू गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले सुरू गरेको चार महिनामा नै कर्मचारी समायोजन गरी प्रशासनिक सङ्क्रमणकाल अन्त्य गरेको घोषणा गरे सरकारले सङ्घमा स्वीकृत भएको ४८ हजार ४०९ दरबन्दीमध्ये ४० हजार ७६९ कर्मचारी समायोजन गरेको छ। त्यस्तै प्रदेशमा २२ हजार २९७ दरबन्दीमध्ये १४ हजार ६५९ जना कर्मचारी समायोजित भएका छन्।

त्यस्तै, स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये निजामती सेवाका ३१ हजार ४३ र साबिक स्थानीय निकायका १२ हजार ९७ गरी ४३ हजार १४० गरी जम्मा ९८ हजार ५६८ जना कर्मचारी समायोजन गरिएको मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरूले स्पष्ट गरे।मन्त्री पण्डितले अब समायोजन भएका कर्मचारी सम्बन्धित तहमा पुगी सेवाग्राहीको सेवा गर्ने बताए।

४० हजार अपुग 

सरकारले कर्मचारी समायोजन सम्पन्न गरे पनि अझै सङ्घ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीमध्ये करिब ४० हजार कर्मचारी अपुग हुने देखिएको छ।

सरकारले तीन तहमा गरी ९८ हजार ५६८ जना कर्मचारी समायोजन भएको घोषणा गरे पनि स्वीकृत एक लाख ३७ हजार ६१४ दरबन्दीमध्ये अझै ३९ हजार ४६ जना कर्मचारी अपुग हुने मन्त्रालयले जनाएको छ। याे खबर गाेरखापत्र दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्