एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस



ओखलढुंगाः चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी एक बोतल पानीले खाना बनाउँछन् । त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन् । छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ । अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन् । उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो ।

डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बोतल बोकेर पुग्छन् । अनि पानी ल्याएर घरबेटीलाई पैंचो तिर्छन् । यी दुई छात्राको मात्र होइन, एसईई दिन आएका झन्डै एक हजार विद्यार्थीको समस्या हो यो ।

परीक्षार्थीहरू बिहान घरबेटीसँग पानी पैंचो माग्छन् र परीक्षा दिएर आएपछि धाराबाट ल्याएर तिर्छन् । ७० वर्षीया मधु पोखरेलले आफूले घन्टौं लगाएर ल्याएको पानी त्यत्तिकै दिन नसकेको बताइन् । उनले भनिन्, ‘कष्ट गरेर ल्याएको पानी बेलुकाका लागि आवश्यक हुन्छ ।’

निसंखेका बासिन्दाले लामो समयदेखि खानेपानी हाहाकार व्यहोर्दै आएका छन् । एक सय ४१ घरधुरी रहेको निसंखेमा खानेपानी जोहो गर्न खोला र खोल्सा धाउनुपर्छ । स्थानीय युवा जीवन कटवाल खानेपानीको बर्सेनी हाहाकार हुने गरेको बताउँछन् । उनले भने, ‘खानेपानीको जोहो गर्नै समस्या छ।’ यो समाचार शिवप्रसाद ढुंगानाले अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्